जनकपुरधाम- आगामी आर्थिक वर्ष २०८३/८४ मा मधेश प्रदेशले संघीय सरकारबाट अनुदान तथा राजस्व बाँडफाँटमार्फत ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
संघीय सरकारले सार्वजनिक गरेको बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशका लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष तथा समपूरक अनुदानसँगै राजस्व बाँडफाँटको रकम विनियोजन गरिएको हो ।



अर्थ मन्त्रालयका अनुसार मधेश प्रदेशले समानीकरण अनुदान शीर्षकमा ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, राजस्व बाँडफाँटबाट प्रदेशको हिस्सामा १२ अर्ब ८३ करोड रुपैयाँ पर्नेछ, जुन कुल प्राप्त रकममध्ये सबैभन्दा ठूलो हिस्सा हो ।
त्यसैगरी, संघीय सरकारले सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । विशेष अनुदान अन्तर्गत ७० करोड रुपैयाँ तथा समपूरक अनुदान अन्तर्गत ९४ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ ।
यी सबै शीर्षकको रकम जोड्दा मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रदेशमा प्राप्त हुने उक्त स्रोत पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य सार्वजनिक सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा खर्च हुने विश्वास गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँट प्रदेशको वार्षिक बजेट तथा विकास कार्यक्रम कार्यान्वयनको प्रमुख आधार मानिन्छ ।





