
जनकपुरधाम- मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
मधेश प्रदेश सरकार मन्त्रीपरिषद्को जेठ १३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निणर्य गरेको थियो । सो निणर्यानुसार सिफारिस भई आए अनुरूप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबार (जेठ २१ गते) दिनको २ बजे मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी कानुन अधिकृत चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो । प्रदेश सभाले बैठकको सूचना पनि जारी गरिसकेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।
दोस्रो अधिवेशनको अन्तिम बैठक गत वैशाख ५ गते बसेको थियो । आज डेढ महिनापछि प्रदेशसभा बैठक डाकिएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा, पाँचौ पटक विश्वासको मत लिने तयारी, अर्को तिर नयाँ सरकार बनाउने कसरत
यता सत्ता साझदारी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले गत वैशाख ३० गते सरकारबाट बाहिरिएर दिएको समर्थन पनि फिर्ता लिएपछि अहिले जनता समाजवादी पार्टीका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
मुख्यमन्त्री यादवले यही अधिवेशनको बैठकमा २३ गते पाँचाँै पटक विश्वासको मत लिने तयारी गरेका छन् ।
यद्यपी मुख्यमन्त्री यादवले विश्वासको मत लिने बारे प्रदेश सभामा औपचारिक जानकारी प्राप्त नभएको प्रदेश सभाका सूचना अधिकारी ठाकुरले बताउनुभयो।
सुचना अधिकारी ठाकुरका अनुसार बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा सभाको तेस्रो अधिवेशन आह्वान भएको प्राप्त पत्र बैठकमा सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको छ।
यस अधिवेशनको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाउनका लागि अन्य राजनीतिक दलहरूसँग बैठक, छलफल गर्दै आएका छन् तर अहिलेसम्म विश्वासको मत पाउने आधार टुङ्गोमा पुगेको ठोकुवा गर्न सकिएको छैन । कुन कुन दलको समर्थन पाउने वा नपाउने कुरामा विश्वस्त नदेखिए पनि जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाउनेमा आशावादी रहेको यादव बताउँछन् । यी दलको समर्थन पाएमा मुख्यमन्त्रीको पक्षमा विश्वासको मत जाने छ र बहुमत ५६ पुग्ने छ । सरकार गठनको लागि यहाँ ५४ साँसद चाहिन्छ । यदि मुख्यमन्त्री यादवलाई काँग्रेस, लोसपा, नेकपा एस, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे त्यो पुग्ने अवस्था रहेको छ।
अर्को तर्फ मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट हटाउन जनमत पार्टीको नेतृत्वमा नयाँ गठबन्धन गरेर सरकार बनाउन नेकपा एमाले, नेकपा माओवादी, जनमत, लोसपा र एकिकृत समाजवादीले मुख्यमन्त्री यादवलाई पदबाट हटाउनको लागि ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताइएको छ।
जनमत पार्टीका केन्द्रिय सचिव वीपी साहले आज दिउँसो मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ज्ञापनपत्र बुझाउने तयारी भएको जानकारी दिनुभयो।
सचिव साहले भन्नुभयो, “अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालिन असर पर्ने खालका निणर्यहरु गरेका छन्, त्यसैले हामीले ज्ञापनपत्र बुझाउन लागेका हाँै”।
यसरी जनता समाजवादी पार्टी(जसपा)नेपाल नेतृत्वको सरकारलाई जोगाउन कांग्रेस लगायतका केही दलहरु लागि परेका छन् । तर सरकारलाई ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्र सम्पूणर् ताकत लगाएका छन् ।
राप्रपाले एमाले सहितको गठबन्धन सरकारलाई मधेश प्रदेशमा समेत समर्थन नगर्ने धारणा सार्वजनिक गरिसकेको छ । तर नागरिक उन्मुक्ती पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सभासदहरुले एमाले सहितको गठबन्धनलाई समर्थन गर्ने दावी एमालेका नेताहरुले गरिरहेका छन् । नेकपा एसले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पुर्याउन काठमाण्डौमा एमाले, माओवादी र जनमतका नेताहरु एकजुट भएर लागेका छन् । सत्ताधारी जसपा नेपाल नेकपा एसको साथ रहनेमा विश्वस्त देखिन्छन् ।
मुख्यमन्त्री सरोज कुमार यादवको सरकारमा नेकपा एसका २ जना मन्त्री छन् । एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली श्रम तथा यातायात मन्त्री हुनुहुन्छ।
समाजवादी ले सत्ता गठबन्धनसँग नयाँ बन्ने सरकारमा आफुहरुलाई सम्मानजनक स्थान हुनुपर्ने बताउदै आएको छ र अहिले सम्म सरकारमा रहि रहेको छ भने लोसपाको आधिकारीक धारणा सार्वजनिक भएको छैन।
यसरी मधेस प्रदेशको तेश्रो अधिवेशनबाट अहिलेको नेतृत्व परिवर्तन हुने वा अहिलेकै नेतृत्वले निरन्तरता पाउने वा अर्को नयाँ गठबन्धन बन्ने भन्नेबारे अहिले सर्वत्र चासोको विषय बनेको छ ।
नयाँ सरकार बनाउने र सरकार टिकाउने खेलले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत प्रभावित बनेको छ ।