जनकपुरधाम। डिजिटल नागरिक क्षेत्र सुदृढीकरणमा युवाको भूमिका सशक्त बनाउने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश प्रदेश युथ समिट–२०२६ आयोजना गरिएको छ।
गैरसरकारी संस्था महासंघ नेपाल (NFN) र युवा अभियानको संयुक्त आयोजनामा सुरु भएको उक्त सम्मेलन जेठ ३१ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ।



कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय लखन दास तत्माले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै आगामी बजेटमा युवाका मुद्दाहरूलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।

विशिष्ट अतिथि मधेश प्रदेशका महान्यायाधिवक्ता डा. सुनील रञ्जन सिंहले कानुन निर्माण प्रक्रियामा युवाको सहभागिता र यसको महत्वबारे प्रकाश पार्नुभयो।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि गैरसरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष राजेन्द्र शर्माले मधेश प्रदेशको समग्र विकासका लागि युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो। साथै, प्रदेश सरकारलाई सबै गैरसरकारी संस्थाहरूलाई एउटै साझा मञ्चमा राखेर विकाससम्बन्धी संवाद अघि बढाउन आग्रह गर्नुभयो।
“Young People Coming Together to Strengthen Digital Civic Space” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा मधेश प्रदेशका आठवटा जिल्लाबाट ४५ जना युवा सहभागीहरू सहभागी भएका छन्।

कार्यक्रमको अध्यक्षता गैरसरकारी संस्था महासंघ नेपाल, मधेश प्रदेशका अध्यक्ष रामबाबु शाहले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य युथ इनिसिएटिभकी सुष्मिता यादवले राख्नुभएको थियो भने सञ्चालन गंगा श्रेष्ठले गर्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत युथ सिभिक स्पेस, संविधान संशोधनमा युवा एजेन्डा, डिजिटल नागरिकता र लोकतन्त्रमा युवाको भूमिका, डिजिटल सुरक्षा, कृत्रिम बौद्धिकता (AI) तथा एड्भोकेसी लगायतका विषयमा विभिन्न सत्रहरू सञ्चालन गरिनेछन्। साथै, सम्मेलनबाट युवा घोषणापत्र तयार गरिनुका साथै युथ CSO फोरम समेत गठन गरिने आयोजकले जानकारी दिएका छन्।




