महोत्तरी – गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु १ अर्ब ५ लाख १ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न नगरसभाको १६औँ अधिवेशनमा नगर प्रमुख डा. दीपेन्द्र महतो ले आगामी आर्थिक वर्षको आय–व्यय अनुमान प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान तथा राजस्वलाई प्रमुख आयस्रोतका रूपमा समेटिएको छ। जसअनुसार वित्तीय समानीकरण अनुदानतर्फ रु १६ करोड ९ लाख, राजस्व बाँडफाँडतर्फ रु १४ करोड ४१ लाख ७४ हजार, सशर्त अनुदानतर्फ रु ३० करोड ३९ लाख, विशेष अनुदानतर्फ रु २ करोड ५२ लाख र समपूरक अनुदानतर्फ रु १ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ।




त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ११ करोड ९९ लाख १२ हजार, विशेष, समपूरक तथा सशर्त अनुदानतर्फ रु १ करोड १० लाख र प्रदेश राजस्व बाँडफाँडतर्फ रु १ करोड ५ लाख ३६ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ।
नगरपालिकाले स्थानीय राजस्व बाँडफाँडबाट रु ५ करोड, आन्तरिक आयबाट रु ५ करोड ७८ लाख १५ हजार तथा बैंक मौज्दातबाट रु २ करोड ९० लाख ६६ हजार २ सय आम्दानी हुने अनुमान गरेको छ।

बजेट प्रस्तुत गर्दै नगर प्रमुख डा. महतोले सीमित स्रोत–साधनका बीच नगरवासीको आवश्यकता र विकासका प्राथमिकतालाई आधार बनाएर बजेट निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको विस्तार, स्वरोजगार प्रवर्द्धन तथा पूर्वाधार विकासलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ।

“स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै उत्पादनमुखी, रोजगारमुखी र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,” नगर प्रमुख महतोले भन्नुभयो, “बजेटको प्रभावकारी कार्यान्वयनबाट नगरवासीले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरेका छौँ।”

बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका काम र सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।














