महोत्तरी – गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि भंगहा नगरपालिकाका कर्मचारीहरूले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।
शुक्रबार जारी गरिएको संयुक्त विज्ञप्तिमा कर्मचारीहरूले कुनै पूर्वसूचना वा आवश्यक समन्वयबिना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको घटनाले स्थानीय तहका कर्मचारीहरूमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको उल्लेख गरेका छन्।



विज्ञप्तिमा स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीमाथि भएको व्यवहारले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार तथा कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको जनाइएको छ।
कर्मचारीहरूले पक्राउ परेका आठै जना नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थानीय तहका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
भंगहा नगरपालिकाका कर्मचारीहरूले स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूको सम्मान र सुरक्षामा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पार्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। साथै, कानुनी शासन, अन्तरसरकारी समन्वय र संवैधानिक व्यवस्थाको भावना विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
असार १९ गते जारी गरिएको उक्त विज्ञप्तिमा भंगहा नगरपालिकाका विभिन्न शाखामा कार्यरत दर्जनौँ राष्ट्रसेवक कर्मचारीहरूले हस्ताक्षर गर्दै पक्राउ परेका नगर प्रहरीप्रति ऐक्यबद्धता जनाएका छन्।





