सुजाता राई
विराटनगर / इसेवा लिमिटेडको आयोजना तथा महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको सह–आयोजनामा शुक्रबार विराटनगरमा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।
महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्विजरल्यान्ड दूतावासकी प्रथम सचिव सेसिल रिभिएरको प्रमुख अतिथ्यतामा विशिष्ट अतिथि मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाह,नेशनल प्रोग्राम अफिसर नेहा भट्टराई तथा मोरङ उद्योग व्यापार संघकी कार्यकारिणी सदस्य वन्दना लगायत उपस्थित थिए।




कार्यक्रमबारे जानकारी दिँदै इसेवा विराटनगर कार्यालय प्रमुख झलक सुब्बाले वित्तीय साक्षरता अभिवृद्धि र डिजिटल भुक्तानी प्रणालीको सुरक्षित प्रयोगका लागि यस्ता तालिम प्रभावकारी हुने बताए।

तालिमका प्रशिक्षक इसेवा लिमिटेडका सोसल इम्प्याक्ट म्यानेजर उदित चन्द्र अर्यालले डिजिटल वित्तीय साक्षरता अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै डिजिटल भुक्तानी गर्दा ओटीपी, पिन, पासवर्ड तथा व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरे। उनले सुरक्षित डिजिटल कारोबार, नियमित बचत, योजनाबद्ध लगानी तथा वित्तीय अनुशासन अपनाएमा आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बन्न सकिने बताए। साथै, डिजिटल सेवाको सही प्रयोगले समय, श्रम र लागत बचत हुनुका साथै वित्तीय पहुँच विस्तारमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रममा महिला उद्यमी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका उद्यम विकास शाखाका कर्मचारी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले डिजिटल वित्तीय सेवाप्रतिको विश्वास बढाएको, सुरक्षित आर्थिक कारोबारसम्बन्धी ज्ञान हासिल भएको तथा दैनिक जीवन र व्यवसाय सञ्चालनमा उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको प्रारम्भमा इसेवा लिमिटेडको हेड अफ सीईओ ट्रान्सफर्मेसन अफिस सुमन खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन मोरङ व्यवसाय संघको अधिकृत सुनिता थापाले गरेकी थिइन्।




