जनकपुरधाम । मिटरब्याजको पीडा भोगिरहेका पीडितहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै सोमबार उच्च अदालत जनकपुरधामको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका छन्।
हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पीडितहरूले वर्षौंदेखि न्यायको खोजीमा भौतारिनुपरेको गुनासो गरेका छन्। उनीहरूले राजनीतिक तथा प्रशासनिक संरक्षणका कारण मिटरब्याजमा संलग्न व्यक्तिहरू कानुनी कारबाहीबाट जोगिँदै आएको आरोपसमेत लगाए।



प्रदर्शनकारीहरूले पीडितलाई शीघ्र न्याय दिलाउन, दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा मिटरब्याजसम्बन्धी मुद्दाको छिटो सुनुवाइ गर्न सरकार र न्यायालयसँग माग गरेका छन्।
मिटरब्याजका कारण धेरै परिवारले घरजग्गा गुमाएको, आर्थिक रूपमा तहसनहस भएको र कतिपय पीडित आत्महत्यासमेत गर्न बाध्य भएको दाबी गर्दै उनीहरूले यस्ता अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्।
पीडितहरूले मिटरब्याजका कारण गुमेको सम्पत्ति फिर्ता गराउने व्यवस्था गर्न तथा दोषीलाई कडा सजाय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।
प्रदर्शनका क्रममा केही समय अदालत परिसर बाहिर नाराबाजी गरिएको थियो। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि सम्भावित अप्रिय घटना रोक्न अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रदर्शनमा सहभागी पीडितहरूले न्याय नपाएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।





