जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चरित्र हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले जनकपुरधाम–२३ लादोबेलाबाट पंकज झा र मनिष पुर्वेलाई पक्राउ गरेको हो।
धनुषासहित अन्य जिल्लामा प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री यादवको चरित्र हत्या गर्ने गरी पम्पलेट पर्चा टाँसेको आरोपमा दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
डिएसपी अवाले झा र पुर्वेलाई पम्पलेट टाँसेको फुटेजको आधारमा पक्राउ गरिएको बताए।
‘उपेन्द्र यादवको असली मालिक को हो? तस्बिरले प्रस्ट पार्छ’ उल्लिखत पम्पलेट उनीहरूले टाँस्ने गरेको प्रहरीले बताएको छ।
२६ फागुनमा राति देखिएको यस्तो पम्पलेट टाँस्ने व्यक्तिको खोजी प्रहरीले गरिरहेको थियो।
पम्पलेट टाँसिरहेको फुटेज फेला परेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी अवाले बताए।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झा र पुर्वे राष्ट्रिय एकता अभियानका कार्यकता रहेको बताइएको छ।