रोशन कुमार महतो,बर्दिबास – महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरलाई मधेसको ‘कैलाश’का रूपमा विकास गर्दै राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउनुपर्ने आवाज थप बलियो बनेको छ।
मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले टुटेश्वरनाथलाई केवल मन्दिरका रूपमा सीमित नराखी प्रकृति, धार्मिक आस्था, जैविक विविधता र पर्यटनलाई जोडेर ‘कैलाश धाम’का रूपमा विकास गर्नुपर्ने बताएका छन्।



सोमबारीका दिन टुटेश्वरनाथ महादेव मन्दिर पुगेका सभामुख यादवले मन्दिर क्षेत्रको विकास गर्दा जथाभावी कङ्क्रिट संरचना निर्माण गर्न नहुनेमा विशेष जोड दिए। महादेव प्रकृतिका देवता भएकाले टुटेश्वरको मौलिक प्राकृतिक स्वरूप जोगाएर पूर्वाधार विकास गर्नुपर्ने उनको भनाइ छ।
उनले मन्दिर परिसरमा हरियाली, जडीबुटी तथा जैविक विविधता संरक्षण गर्दै पदमार्ग, आवश्यक पूर्वाधार र सौन्दर्यीकरणका काम अघि बढाउनुपर्ने बताए।
प्रकृतिलाई बचाउँदै टुटेश्वरको विकास गर्नुपर्छ। यसलाई तपोभूमि र तपस्याधामका रूपमा विकास गर्न सके यो क्षेत्रको धार्मिक पर्यटनसँगै आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुग्छ, सभामुख यादवले भने।
करिब १० वर्षपछि दोस्रोपटक टुटेश्वरनाथ पुगेको उल्लेख गर्दै उनले पछिल्लो समय यो क्षेत्र मधेस प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको बताए। टुटेश्वरनाथको विकासमा प्रदेश सरकारले विगतमा समेत सहकार्य गरेको स्मरण गर्दै उनले आगामी दिनमा राज्यको प्राथमिकता अझ बढाउनुपर्ने आवश्यकता औँल्याए।
सभामुख यादवले टुटेश्वर क्षेत्र महाभारत तथा रामायणकालीन धार्मिक कथासँग जोडिएको उल्लेख गर्दै यसको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई समेत संरक्षण गर्दै विकास गर्नुपर्ने बताए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले सभामुखको स्थलगत अवलोकनले टुटेश्वरनाथको विकासमा नयाँ आशा जगाएको बताए। उनले धार्मिक तथा पर्यटकीय दृष्टिले टुटेश्वरलाई फरक पहिचान दिलाउन प्रदेश सरकारबाट ठोस पहलको अपेक्षा रहेको बताए।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले टुटेश्वरनाथलाई नेपालकै महत्वपूर्ण बाबाधामका रूपमा स्थापित गर्न योजनाबद्ध प्रचारप्रसार र पर्याप्त बजेट आवश्यक रहेको बताए। उनले मधेसका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउने ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानअन्तर्गत टुटेश्वरलाई थप प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
गौतमका अनुसार साउन महिनामा महोत्तरीमा सबैभन्दा ठूलो धार्मिक भीड टुटेश्वरनाथमा देखिने गरेको छ। यसले मन्दिरको धार्मिक तथा पर्यटकीय सम्भावना स्पष्ट गरेको उनको भनाइ छ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका सचिव पर्मेश्वर महतोले यस वर्ष भक्तजन व्यवस्थापन विगतभन्दा व्यवस्थित देखिएको भन्दै आगामी वर्ष अझ प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए।
प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले टुटेश्वरनाथलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका आधारमा विकास गर्न सके आर्थिक समृद्धिसँगै सामाजिक सद्भाव प्रवर्द्धनमा समेत योगदान पुग्ने बताए।
उनले टुटेश्वरनाथको धार्मिक इतिहास रामायण तथा महाभारतकालीन कथासँग जोडिएको उल्लेख गर्दै स्वदेश तथा विदेशका भक्तजनलाई आकर्षित गर्ने गरी यसको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।







