महोत्तरी – महोत्तरीसहित तराई–मधेश क्षेत्रमा रक्षाबन्धन पर्वको रौनक छाएको छ। पर्व नजिकिएसँगै बजार, गाउँ तथा बस्तीमा दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता र सद्भाव झल्काउने माङ्गलिक गीत गुञ्जिन थालेका छन्।
रक्षाबन्धनका लागि विभिन्न रङ, आकार र डिजाइनका राखी बजारमा बिक्रीका लागि राखिएका छन्। दिदीबहिनी राखी, मिठाई तथा अन्य सामग्री खरिद गर्न व्यस्त छन्। काम विशेषले घरबाहिर रहेका दाजुभाइलाई पर्वका दिन घर आउन निम्तो दिने क्रमसमेत बढेको छ।



विवाह गरेर माइतीघरबाट टाढा रहेका चेलीहरूले मोबाइल फोन तथा सामाजिक सञ्जालमार्फत दाजुभाइको अवस्थाबारे जानकारी लिँदै रक्षाबन्धनका दिन घर आउन निम्तो गरिरहेका छन्। अविवाहित चेलीले पनि कामका सिलसिलामा घरबाहिर रहेका दाजुभाइलाई पूर्णिमाका दिन राखी बाँध्न घर फर्कन आग्रह गरिरहेका छन्।

राखी खरिद गर्न औरही बजार पुग्नुभएकी औरही नगरपालिका–२ की मञ्जु कुमारी यादवले रक्षाबन्धनको तयारीमा समय बितेको पत्तै नहुने बताउनुभयो। उहाँका अनुसार बजारमा राखी तथा मिठाई खरिद गर्नेको चहलपहल बढेको छ।
यस वर्ष पुरुषोत्तम मास परेकाले रक्षाबन्धन भदौ १२ गते शुक्रबार मनाइँदैछ। हिन्दू धार्मिक मान्यताअनुसार तीन वर्षमा एकपटक आउने अधिकमासलाई पुरुषोत्तम मास भनिन्छ। यस महिनालाई भगवान् विष्णुको प्रिय महिनाका रूपमा लिइन्छ। पुरुषोत्तम मासमा पूजा–आराधना, व्रत, दान, जप तथा धार्मिक अनुष्ठान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
रक्षाबन्धन साउन शुक्ल पूर्णिमाका दिन मनाइने धार्मिक तथा सांस्कृतिक पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, आरोग्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीको रक्षा गर्ने र सुख–दुःखमा साथ दिने प्रतिबद्धता जनाउने परम्परा छ।

मिथिला लोकसंस्कृतिका जानकारहरूका अनुसार रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पारिवारिक एकता र सामाजिक सद्भाव बलियो बनाउने गरेको छ।
औरही बजारका व्यापारीका अनुसार पर्व नजिकिएसँगै विभिन्न डिजाइन र मूल्यका राखीको माग बढेको छ। ग्राहकको रुचिअनुसारका राखी उपलब्ध गराउन व्यापारीहरू व्यस्त छन्।
औरही बजारका व्यापारी ३५ वर्षीय शम्भु साहले रक्षाबन्धन नजिकिएसँगै राखी खरिद गर्ने ग्राहकको चहलपहल बढेको बताउनुभयो। उहाँका अनुसार विशेषगरी दिदीबहिनीले नयाँ डिजाइनका राखी खोज्ने गरेका छन्।
औरही नगरपालिका–१ का राखी व्यापारी ४० वर्षीय रामपुकार साहले पनि विभिन्न रङ, डिजाइन र मूल्यका राखी बिक्री भइरहेको बताउनुभयो। उहाँका अनुसार नयाँ डिजाइनका आकर्षक राखीप्रति ग्राहकको रुचि बढी देखिएको छ।
महिला व्यापारी कोसिला देवीका अनुसार पछिल्ला दिनमा राखी खरिद गर्ने दिदीबहिनीको सङ्ख्या बढेको छ। विभिन्न रङ र डिजाइनका आकर्षक राखीको माग बढी रहेको उहाँले बताउनुभयो।

पर्वका लागि काम विशेषले घरबाहिर रहेका दाजुभाइ पनि घर फर्कने तयारीमा छन्। टेलिफोन तथा सामाजिक सञ्जालमार्फत दाजुभाइ घर आउने जानकारी पाएपछि दिदीबहिनीमा खुसी बढेको छ।
औरही नगरपालिका–१ की पूजा कुमारी चौधरीका दाजु पञ्जाबबाट रक्षाबन्धन मनाउन घर फर्किने भएपछि उहाँ उत्साहित हुनुहुन्छ। “दाजुलाई आफ्नै हातले राखी बाँधेर मिठाई खुवाउने र उहाँको सुख, शान्ति, दीर्घायु तथा सफलताको कामना गर्ने तयारीमा छु,” उहाँले भन्नुभयो।
गौशाला नगरपालिका–१० की २५ वर्षीया रञ्जना कुमारी महतो पनि दाजुभाइ घर आउने भएपछि रक्षाबन्धनको तयारीमा जुट्नुभएको छ। उहाँले दाजुभाइका लागि राखी र मिठाई खरिद गर्ने तयारी भइरहेको बताउनुभयो।
गौशाला नगरपालिका–१० का ५१ वर्षीय मनिकलाल महतोले रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो। वर्षभरि आ–आफ्नो काममा व्यस्त भए पनि पर्वका दिन परिवारका सदस्य एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने अवसर मिल्ने उहाँको भनाइ छ।

औरही उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष श्रवण चौधरीले बजारका चोक तथा हाटबजारमा गुञ्जिएका रक्षाबन्धनसम्बन्धी गीतले पर्वको माहोल थप रमाइलो बनाएको बताउनुभयो। दिदीबहिनीले राखीका साथै दाजुभाइलाई खुवाउने मिठाई तथा विभिन्न परिकारको तयारीसमेत थालेका छन्।
मिथिला क्षेत्रमा प्रचलित जनविश्वासअनुसार सत्ययुगमा दानवराज बलिलाई उनकी बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै रक्षाबन्धन बाँधेका थिए। बलिको विजयको सम्झनामा साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै राखी बाँध्ने परम्परा बसेको जनविश्वास छ।
पर्वका अवसरमा ब्राह्मण तथा पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने परम्परा रहे पनि मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्नै हातले दाजुभाइलाई राखी बाँध्ने चलन प्रमुख मानिन्छ।
रक्षाबन्धनले चेली–माइतीबीचको सम्बन्ध सुधारमा समेत भूमिका खेल्ने गरेको स्थानीयवासी बताउँछन्। औरही नगरपालिका–२ का ४८ वर्षीय दिनेश यादवका अनुसार यसअघि मनमुटाव भएका दाजुभाइ तथा दिदीबहिनीसमेत पर्वका अवसरमा एकअर्कालाई भेट्ने र सम्बन्ध सुधार्ने गर्छन्।

दिदीबहिनी नभएका पुरुष तथा दाजुभाइ नभएका महिलाले नजिकका नाता वा आफूले दाजुभाइ मानेका व्यक्तिलाई राखी बाँध्ने चलनसमेत मिथिला क्षेत्रमा रहेको छ। दाजुभाइ भेट हुन नसक्ने अवस्थामा राखी खाममा राखेर हुलाकमार्फत पठाउने परम्परासमेत कायमै छ।
विगतमा तराई–मधेश क्षेत्रमा बढी प्रचलित रक्षाबन्धन पछिल्लो समय सांस्कृतिक घुलमिलसँगै अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ। पर्वते समुदायका चेली तथा मुस्लिम समुदायका दिदीबहिनीले समेत आफूले दाजुभाइ मानेका व्यक्तिलाई राखी बाँध्ने क्रम बढेको स्थानीयवासी बताउँछन्।
महोत्तरीमा पछिल्ला वर्षमा मुस्लिम समुदायका युवाले हिन्दू महिलालाई दिदीबहिनी तथा मुस्लिम समुदायका चेलीले हिन्दू युवालाई दाजुभाइ मानेर राखी बाँध्ने क्रम बढेको छ। यसले रक्षाबन्धनलाई धार्मिक सीमाभन्दा माथि उठेर आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको पर्वका रूपमा स्थापित गर्न योगदान पुर्याएको स्थानीयवासीको भनाइ छ।





