श्रीनारायण साह,जनकपुरधाम –पितृपक्षको अवसरमा आजदेखि जनकपुरधामस्थित प्रसिद्ध गंगासागरमा पितृ तर्पण गर्ने धार्मिक परम्परा आरम्भ भएको छ।पितृहरूको सम्झनामा तर्पण तथा श्राद्ध गर्न बिहानैदेखि गंगासागरमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
आफ्ना दिवंगत पितृहरूको आत्माको शान्ति तथा सद्गतिको कामना गर्दै श्रद्धालुहरू गंगासागरमा स्नान गरी विधिपूर्वक तर्पण, पिण्डदान तथा अन्य धार्मिक कर्मकाण्डमा सहभागी भएका छन्। बिहानैदेखि गंगासागर परिसरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ।
पितृपक्षमा दिवंगत आफन्त तथा पूर्वजहरूको सम्झनामा तर्पण र श्राद्ध गर्ने धार्मिक मान्यता रहेको छ।



यस अवधिमा पितृहरूको स्मरण गर्दै जल, तिल, कुशलगायतका सामग्रीबाट तर्पण दिने गरिन्छ।जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गंगासागरमा प्रत्येक वर्ष पितृपक्षका बेला ठूलो संख्यामा श्रद्धालुहरू तर्पण गर्न आउने गरेका छन्। स्थानीयसँगै धनुषा तथा आसपासका विभिन्न जिल्लाबाट समेत श्रद्धालुहरू गंगासागर पुग्ने गरेका छन्।
पितृ तर्पणका कारण गंगासागर परिसरमा बिहानैदेखि धार्मिक वातावरण बनेको छ। श्रद्धालुहरूको सहजताका लागि सम्बन्धित पक्षले आवश्यक व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाएका छन्।




