काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट सुरु भएको छ । उद्घाटनसँगै सुरु भएको महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । आजै निर्वाचन प्रक्रिया पनि सुरु हुँदै छ ।
बन्दसत्र भोलिसम्म चल्नेछ । बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ । महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।



यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्दै छ । बैठक महाधिवेशन स्थल खुलामञ्चमै बस्नेछ । बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुनेछ ।
महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।
५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ ।





