महोत्तरी – महोत्तरीको औरही नगरपालिका–७, भोइल गाउँस्थित प्रसिद्ध सोनासति महारानी अर्थात् सोनामाई मन्दिरमा यस वर्ष पनि बडादसैँको अवसरमा विशेष पूजाआजा तथा भूत मेला लाग्ने भएको छ।
मन्दिरमा असोज २५ गते घटस्थापनादेखि विजयादशमीसम्म विभिन्न धार्मिक अनुष्ठान, पूजापाठ तथा परम्परागत मेला सञ्चालन गरिने भएको हो। दसैँको अवसरमा महोत्तरीसहित आसपासका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन दर्शन, पूजाआजा र भाकल पूरा गर्न यहाँ आउने गरेका छन्।



सदरमुकाम जलेश्वरदेखि करिब २३ किलोमिटर उत्तर र बर्दिवासदेखि करिब १७ किलोमिटर दक्षिण जलेश्वर-बर्दिवास सडक खण्डमा पर्ने औरही नगरपालिका ७ भोईल गाउँमा रहेको सोनामाई मन्दिर मिथिला क्षेत्रका चर्चित धार्मिकस्थलमध्ये एक मानिन्छ। स्थानीय जनविश्वासअनुसार मन्दिरमा भूत, प्रेत, पिशाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीबाट सताइएको ठानिएका व्यक्तिहरू झारफुक तथा तान्त्रिक विधिका लागि आउने गरेका छन्। मन्दिरका पुजारी केदार झाले सन्तान प्राप्ति तथा अन्य मनोकामना पूरा हुने विश्वासमा श्रद्धालुले भाकल गर्ने र मनोकामना पूरा भएपछि पुनः मन्दिरमा आएर पूजा तथा बलि दिने परम्परा रहेको बताउनुभयो।

पाँच सय वर्ष पुरानो जनश्रुति स्थानीय जनश्रुतिअनुसार करिब पाँच सय वर्षअघि हाल मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो। जिल्लाको पश्चिमी तथा दक्षिणी क्षेत्रबाट मानिसहरू गाईभैँसी चराउन उक्त क्षेत्रमा आउने र राति जङ्गलमै बास बस्ने गर्दथे।
एकपटक पाँच वटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरूले खोजी गर्दै जाँदा हाल मन्दिर रहेको स्थानमा पुगेका थिए। त्यहाँ सोनासति महारानी मानव रूपमा प्रकट भएर भैँसी आफूसँग रहेको र दैनिक पूजापाठ, साँझ दीप प्रज्वलन तथा आरती गरेपछि मात्र भैँसी फिर्ता दिने बताएको किंवदन्ती रहेको पुजारी झगरु झाले बताउनुभयो।
त्यस घटनापछि उक्त स्थानमा सोनासति महारानीको पूजाआजा सुरु भएको स्थानीय विश्वास छ।मन्दिर निर्माण हुनुअघि उक्त स्थान ‘कहचरीया स्थान’का नामले चिनिन्थ्यो। त्यहाँ रहेको पुरानो सिसौको रुखको टोड्कामा सोनासति महारानीको बास रहेको विश्वास गरिन्थ्यो। पछि त्यहाँबाट मूर्ति ल्याएर माटोको घर बनाई पूजापाठ गर्न थालिएको स्थानीयवासी बताउँछन्।
स्थानीय राजनीतिकर्मी दरेश यादवका अनुसार माझी चौधरी नाम गरेका व्यक्तिले सोनासति महारानीप्रति भाकल गरेपछि मन्दिर निर्माण गराएका थिए। पुजारी माझी झाका अनुसार माझी चौधरी वीरगन्ज जेलमा रहेका बेला मन्दिर निर्माण गर्ने भाकल गरेको र जेलबाट मुक्त भएपछि भाकलअनुसार मन्दिर निर्माण गराएको जनश्रुति स्थानीयस्तरमा प्रचलित छ।
पुरानो मन्दिर जीर्ण भएपछि त्यसलाई भत्काएर हालको नयाँ मन्दिर निर्माण गरिएको हो। अहिले मन्दिरमा दैनिक पूजापाठ तथा आरती हुँदै आएको छ।
घटस्थापनामा विशाल कलश यात्रा
सोनामाई मन्दिरमा गत वर्षदेखि घटस्थापनाका दिन कलश यात्रा निकाल्ने परम्परा सुरु गरिएको हो। यस वर्ष पनि असोज २५ गते आइतबार घटस्थापनाका दिन औरही नगरपालिका–२ फुलबरिया गाउँको पश्चिमतर्फ बग्ने जङ्घा, बेतो र पचाइन नदीको सङ्गमस्थलबाट सोनामाई मन्दिरसम्म विशाल कलश यात्रा निकालिने भएको छ।
सङ्गमस्थलबाट धार्मिक विधिअनुसार जल भरेर निकालिने कलश यात्रामा स्थानीय श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कलश मन्दिरमा पुर्याएपछि विधिपूर्वक पूजाआजा गरिनेछ।

औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले सोनामाई मन्दिर नगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण स्थल भएको बताउनुभयो।उहाँले भन्नुभयो, “सोनामाई मन्दिर हाम्रो धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण स्थल हो। यहाँ लाग्ने मेला र कलश यात्राले पुस्तौँदेखि चलिआएको धार्मिक परम्परा र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउँछ।
गत वर्षदेखि सुरु गरिएको कलश यात्रालाई यस वर्ष थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ।”कलश यात्रा तथा मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने बताउँदै नगर प्रमुख खड्काले श्रद्धालु भक्तजनको सुरक्षा, सहजता तथा आवश्यक व्यवस्थापनका लागि नगरपालिका र सम्बन्धित निकायबीच समन्वय गरिने जानकारी दिनुभयो।
दसैँभरि विशेष पूजाआजा
घटस्थापनाका दिन बिहानै पुजारीको घरबाट परम्परागत बाजागाजासहित ‘डाला’ मन्दिरमा लगेर घटस्थापना गर्ने तथा जमरा राख्ने परम्परा रहेको छ। डालामा धूप, दीप, अक्षता, कलश, नैवेद्य, रातो कपडा र खड्गलगायत सामग्री राख्ने गरिन्छ।
द्वितीयादेखि षष्ठीसम्म मन्दिरमा भक्तजनको चहलपहल बढ्दै जाने गर्दछ। श्रद्धालुले लड्डु, पेडा, मिठाईलगायत प्रसाद चढाउनुका साथै भाकलअनुसार बोका तथा परेवाको बलि दिने गरेका छन्।

सप्तमीका दिन विभिन्न स्थानबाट फूलपाती ल्याएर मन्दिरमा भित्र्याउने चलन छ। अष्टमीका दिन विशेष‘नशा पूजा’गरिन्छ। रातिको समयमा धूप,दीप,नैवेद्य,फलफूल,चुरा,सुनचाँदीलगायत सामग्रीबाट पूजा गर्ने परम्परा रहेको पुजारीहरूले बताएका छन्।
मन्दिरमा बोका बलि तथा राजदेवीलाई कुभिन्डोको बलि दिने चलनसमेत रहेको छ। महानवमीका दिन ठूलो सङ्ख्यामा राँगाको बलि दिने परम्परा रहेको स्थानीयवासी बताउँछन्।
विजयादशमीका दिन भने परम्परागत बाजागाजासहित सोनासति महारानीको डाला मन्दिरबाट पुजारीको घरमा लगेर धार्मिक विधिअनुसार दसैँको पूजा सम्पन्न गरिन्छ।
चौथीदेखि अष्टमीसम्म ‘भूत मेला’
सोनामाई मन्दिरको दसैँ पर्वको प्रमुख आकर्षणका रूपमा चौथीदेखि अष्टमीसम्म लाग्ने ‘भूत मेला’लाई लिइन्छ।
स्थानीय जनविश्वासअनुसार भूत, प्रेत, पिशाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीबाट सताइएको ठानिएका व्यक्तिहरू मेला लाग्ने समयमा मन्दिर परिसरमा आउने गर्छन्।
स्थानीय रामनारायण साहका अनुसार त्यस्ता कतिपय व्यक्ति रुँदै, कराउँदै तथा दौडिँदै राजदेवीमाईको चरणमा पुग्ने गर्छन्। मन्दिरका पुजारीले धार्मिक तथा तान्त्रिक विधिबाट झारफुक गर्ने परम्परा रहेको उहाँले बताउनुभयो।
स्थानीयका अनुसार पाँच दिनसम्म सञ्चालन हुने भूत मेलामा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानिस सहभागी हुने गरेका छन्।
भाकल पूरा भएपछि भेटी तथा बलिसोनामाई मन्दिरमा मनोकामना पूरा हुने विश्वासमा श्रद्धालुले विभिन्न प्रकारका भाकल गर्ने गरेका छन्। भाकल पूरा भएपछि मन्दिरमा पुनः आएर पूजा गर्ने, भेटी चढाउने तथा परम्पराअनुसार बलि दिने चलन रहेको स्थानीयवासी बताउँछन्।
दसैँका बेला लाग्ने मेला,विशेष पूजा आजा तथा कलश यात्राका कारण सोनामाई मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। धार्मिक आस्था,स्थानीय जनश्रुति र परम्परासँग जोडिएको यस स्थलमा हरेक वर्ष बढ्दो श्रद्धालु आगमनसँगै स्थानीय स्तरमा धार्मिक पर्यटनको सम्भावनासमेत बढ्दै गएको स्थानीयको भनाइ छ।





