महोत्तरी- बडादसैँ नजिकिएसँगै महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा खसी, बोका र राँगाको किनबेच बढेको छ। चाडपर्वलाई लक्षित गरी स्थानीय किसानले बिक्रीका लागि पशु बजारमा ल्याउन थालेपछि व्यापारी र उपभोक्ताको चहलपहल बढेको हो।
महोत्तरीका विभिन्न स्थानीय तहका किसानले व्यावसायिक रूपमा पालेका खसी, बोका र राँगा बिक्रीका लागि गौशाला बजारमा ल्याइरहेका छन्। दशैँको खर्च जुटाउन पशु बिक्री गर्ने किसानका लागि यो समय आम्दानीको महत्त्वपूर्ण अवसर बनेको छ।




स्थानीयका अनुसार गौशाला बजारमा खसी, बोका र राँगाको मूल्य प्रतिगोटा १० हजारदेखि ३० हजार रुपियाँसम्म रहेको छ। यहाँबाट खरिद गरिएका पशु ठूला व्यापारीले काठमाडौँ, पोखरा, बनेपा र धुलिखेललगायतका सहरमा बिक्रीका लागि लैजाने गरेका छन्।
यस वर्ष गौशाला, बर्दिबास, औरही, रामगोपालपुर, सम्सी, सोनमा, मनराशिसवा र बलवा क्षेत्रका किसानले खसीबोका बिक्रीका लागि बजारमा ल्याएका छन्। दशैँमा मासुको माग बढ्ने भएकाले किसानले पनि यही समयलाई लक्षित गरी पशुपालन तथा बिक्री गर्दै आएका छन्।

गौशाला नगरपालिका–११ का दिनेश्वर महतोले दशैँका बेला खसीबोका बिक्री गर्नु किसानका लागि आम्दानीको राम्रो अवसर भएको बताउनुभयो। “हाम्रो गाउँका किसानले पनि दशैँको अवसरमा खसीबोका बिक्री गरेर आम्दानी जुटाइरहेका छन्,” उहाँले भन्नुभयो।
गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजा प्रसाद साहका अनुसार दशैँका बेला पशुको कारोबार बढेसँगै स्थानीय बजारमा आर्थिक गतिविधि पनि बढ्ने गरेको छ। पशु खरिदबिक्रीले व्यापारिक चहलपहल बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने उहाँको भनाइ छ।
त्यस्तै, गौशाला नगरपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ताले स्थानीय किसानले उत्पादन गरेका पशुले चाडपर्वका बेला बजार पाउनु सकारात्मक भएको बताउनुभयो। पशुपालनबाट उचित आम्दानी हुने वातावरण बनेमा किसान यस व्यवसायप्रति थप आकर्षित हुने र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो।
हिन्दू धर्मावलम्बीको प्रमुख पर्व बडादसैँमा पूजाआजा तथा बलि दिने परम्पराका कारण खसी, बोका र राँगाको माग बढ्ने गरेको छ। यही मागलाई लक्षित गरी किसान र व्यापारीले पशु खरिदबिक्री गर्ने गरेका छन्।
दशैँका बेला गौशाला बजारमा बढ्ने पशुको कारोबारले किसानलाई आम्दानीको अवसर उपलब्ध गराउनुका साथै स्थानीय व्यापार व्यवसायलाई समेत गति दिएको छ। स्थानीय उत्पादनले बजार पाउँदा पशुपालनमा संलग्न परिवारको आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




