महोत्तरी – दसैँ लागेसँगै महोत्तरीका किसानलाई पाकेको धान काटेर घरमा भित्र्याउने चटारो परेको छ । श्रमिकको अभाव र चाडपर्वको तयारी एकैपटक परेपछि किसानले धान काट्न मेसिन तथा झाँट्न थ्रेसरको प्रयोग बढाएका छन् ।
औरही नगरपालिका–२ का दिनेश यादव र गौशाला नगरपालिका–१०, बटौवाका मानिकलाल महतो यतिबेला धान काट्ने, खल्यानमा ओसार्ने र थ्रेसरबाट झाँटेर घरमा भित्र्याउने काममा व्यस्त हुनुहुन्छ ।



पहिले गाउँघरमा गोरुलाई धानमाथि घुमाएर दाइँ गर्ने चलन थियो । त्यसका लागि धेरै समय र जनशक्ति लाग्ने गर्थ्यो । पछिल्लो समय गोरु पाल्ने चलन घट्दै गएको र धान काट्ने श्रमिक पाउन कठिन हुन थालेपछि किसानले मेसिनको सहारा लिन थालेका छन् । थ्रेसरको प्रयोगले पनि दाइँ गर्ने काम छिटो र सहज बनाएको छ ।

“पहिले गोरुले दाइँ गर्दा धेरै समय र जनशक्ति लाग्थ्यो । अहिले थ्रेसरबाट दुई–अढाइ घण्टामै धान झाँट्न सकिन्छ,” यादवले भन्नुभयो ।
यस वर्ष दसैँ र धान काट्ने समय एकैपटक परेकाले किसानलाई खेतीपातीको काम सक्ने र चाडपर्व मनाउने दोहोरो चटारो छ । आकाशमा बादल देखिएकाले वर्षाअघि नै बाली भित्र्याउन उनीहरू थप सक्रिय भएका छन् ।
औरहीकै किसान फेकन यादवले पनि धान काट्ने, बोक्ने र झाँट्ने काममा श्रमिकको सहयोग लिनुभएको छ । “पानी पर्नुअघि नै धान भित्र्याउनुपर्छ भनेर मान्छे लगाएर भए पनि काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
औरही, गौशाला, रामगोपालपुर र भङ्गाहा लगायतका क्षेत्रमा किसान धान भित्र्याउन व्यस्त छन् । वर्षभरि परिवारको खाद्यान्न र आम्दानीको आधार मानिने धान सुरक्षित रूपमा घरमा भित्र्याएर दसैँ मनाउने तयारीमा किसान जुटेका छन् ।




