महोत्तरी – मिथिलाको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा परिचित कमला नदीको देव मेला यस वर्ष मंसिर ८ गते मंगलबार लाग्ने भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका विभिन्न घाटमा देव मेला आयोजना हुने भएको हो ।
यस वर्ष नोभेम्बर २४ अर्थात् मंसिर ८ गते कार्तिक पूर्णिमा परेको छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन लाग्ने यस मेलामा मधेश प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरीलगायत जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत धामी, झाँक्री, भगता तथा श्रद्धालु सहभागी हुने गर्छन् ।



मेलाका अवसरमा कमला नदीमा स्नान गरी देवताको पूजा–आराधना गर्ने, मन्त्र सिद्धि गर्ने तथा कुलदेवताको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ । विशेषगरी धामी–झाँक्रीहरूले वर्षभरि सिकेको तान्त्रिक विद्या सिद्ध गर्ने र देवतालाई स्थायी बासका लागि निमन्त्रणा गर्ने धार्मिक विश्वास छ ।
स्थानीय भाषामा ‘महराई’ भनिने लोकभाका गाउँदै धामी तथा भगताहरू ढोल, घण्टी र घुँघरू बजाएर कमला नदीका विभिन्न घाटमा पुग्ने गर्छन् । परम्परागत भेषभूषामा सजिएका उनीहरू नदीमा स्नान गरी पूजापाठ गर्ने तथा कमला नदीको जल घरमा लगेर राख्ने चलनसमेत छ ।
सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी र कल्याणपुर तथा धनुषातर्फका सघारा, टरिया र लकडालगायतका घाटमा श्रद्धालुको ठूलो भीड लाग्ने गरेको छ । यी घाटहरूमा बिहानैदेखि धामी, झाँक्री, भगता र सर्वसाधारणको चहलपहल बढ्ने गर्छ ।
कमला नदीलाई गङ्गासरह पवित्र मान्ने धार्मिक विश्वासका कारण कार्तिक पूर्णिमाका दिन नदीमा स्नान, दान र पूजा गर्नाले परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ । त्यसैले यस दिन टाढाटाढाबाट समेत श्रद्धालुहरू कमला नदीमा पुग्ने गर्छन् ।
मिथिलाको लोकसंस्कृति, तान्त्रिक साधना र धार्मिक आस्थासँग गहिरो सम्बन्ध राख्ने कमला नदीको देव मेला केवल धार्मिक अनुष्ठानमा सीमित छैन । यसले पुस्तौँदेखि चल्दै आएको मौलिक लोकपरम्परा, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई समेत निरन्तरता दिँदै आएको छ । पछिल्लो समय यो मेला मधेश प्रदेशकै विशिष्ट सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।




