महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही आधारभूत नगर अस्पतालको प्याथोलोजी ल्याब कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको सेवाग्राहीले गुनासो गरेका छन्। प्रयोगशाला परीक्षणका लागि आवश्यक दक्ष प्राविधिक कर्मचारी उपस्थित नहुँदा कार्यालय सहयोगीबाटै रगतको नमुना सङ्कलन गर्ने प्रयास भएको उनीहरूको आरोप छ।
अस्पताल बिहान ९:३० बजे सञ्चालन हुनुपर्ने भए पनि स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारी समयमै उपस्थित नहुने गरेको सेवाग्राहीको गुनासो छ। स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्दा सम्बन्धित चिकित्सक र प्राविधिक कर्मचारी नभेटिएपछि आफूहरूले सास्ती भोग्नुपरेको उनीहरूले बताएका छन्।



औरही नगरपालिका–१ निवासी बजरंग साह रोनियार स्वास्थ्यमा समस्या देखिएपछि प्रयोगशाला परीक्षण गराउन अस्पताल पुगेका थिए। उनका अनुसार बिहान साढे ९ बजे अस्पताल पुग्दा ल्याबसम्बन्धी काम गर्ने चिकित्सक तथा प्राविधिक कर्मचारी उपस्थित थिएनन्। केही समय प्रतीक्षा गरेपछि कार्यालय सहयोगी मनोज यादवसमेत बजार गएको जानकारी पाएको उनले बताए।
बजारबाट फर्किएपछि कार्यालय सहयोगीले आफूलाई रगत निकालिदिने प्रस्ताव गरेको रोनियारको भनाइ छ। उनले भने, “म बिहान साढे ९ बजे नै ल्याब परीक्षण गराउन अस्पताल पुगेको थिएँ। तर त्यहाँ ल्याबसम्बन्धी काम गर्ने चिकित्सक तथा प्राविधिक कर्मचारी कोही पनि हुनुहुन्थेन। केही समय कार्यालय सहयोगीलाई कुरेर बसेँ। उहाँ बजार घुम्न जानुभएको रहेछ। फर्किएपछि ‘ल्याउनुस्, म रगत निकालिदिन्छु’ भन्नुभयो।”
कार्यालय सहयोगीले रगत निकाल्ने प्रस्ताव गरेपछि आफूले सम्बन्धित प्राविधिक वा चिकित्सकबिना किन रगत निकाल्न खोजेको भन्दै प्रश्न गरेको रोनियारले बताए। चिकित्सक बिदामा रहेको जानकारी पाएपछि बिदा स्वीकृत भएको प्रमाण देखाउन आग्रह गर्दा कार्यालय सहयोगीले देखाउन नमानेको उनको गुनासो छ।
त्यस्तै,स्थानीय अजय शर्मा पनि सुगर परीक्षण गराउन अस्पताल पुगेका थिए। उनका अनुसार नाम र पदसमेत थाहा नभएका एक कर्मचारीले उनको रगतको नमुना सङ्कलन गरेका थिए। पहिलोपटक अस्पतालमा सुगर परीक्षण गराउन पुगेकाले रगत सङ्कलन गर्ने कर्मचारीको जिम्मेवारीबारे आफूलाई जानकारी नभएको उनले बताए।
शर्माले भने,“म सुगर जाँच गराउन अस्पताल आएको थिएँ। त्यहाँ एक जना कर्मचारी हुनुहुन्थ्यो, उहाँको नाम मलाई थाहा छैन। उहाँले नै मेरो रगत निकाल्नुभयो। रगत निकालेपछि खाना खाएर दुई घण्टापछि फेरि आउन भन्नुभयो।”
औरही नगरपालिका–१ औरही निवासी स्थानीय मनोज चौधरीले पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार नगरवासीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालमा दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीको नियमित उपस्थिति सुनिश्चित हुन नसक्दा सर्वसाधारणले समस्या भोग्नुपरेको छ।
उनले भने,“नगरवासीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको सेवा नै प्रभावकारी हुन सकेको छैन। अस्पतालमा आवश्यक चिकित्सक र दक्ष प्राविधिक कर्मचारी नियमित उपस्थित हुनुपर्छ। कार्यालय सहयोगीबाट प्रयोगशालाको काम गराउने अवस्था आउनु दुःखद हो। नगरपालिकाले अस्पतालको नियमित अनुगमन गरी सेवा सुधारमा तत्काल ध्यान दिनुपर्छ।”
यस विषयमा औरही नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी चन्द्रभूषण ठाकुरले कार्यालय सहयोगी मनोज यादवलाई प्याथोलोजी ल्याबमा प्रयोगशाला परीक्षण गर्ने कानुनी अधिकार नरहेको बताएका छन्। प्रयोगशाला परीक्षणका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता र दक्षता प्राप्त प्राविधिक जनशक्ति अनिवार्य हुनुपर्ने उनको भनाइ छ।
यता, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अरुण यादवले आफू निर्धारित समयमै अस्पताल पुगेको दाबी गरेका छन्। तर प्याथोलोजी ल्याबको सञ्चालन तथा त्यहाँको कर्मचारी व्यवस्थापनबारे आफूलाई जानकारी नभएको उनले स्पष्ट पारे।यस विषयमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू तालिमका लागि जलेश्वर गएको जानकारी दिए। अस्पतालका इन्चार्ज रामचन्द्र यादवसँग पनि प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन।
अस्पतालको सेवा प्रवाहमाथि प्रश्न
स्थानीयवासीका अनुसार औरही आधारभूत नगर अस्पतालमा स्वास्थ्य सेवा प्रवाहसम्बन्धी समस्या पटक–पटक दोहोरिने गरेको छ। कहिले चिकित्सक उपलब्ध नहुने, कहिले आवश्यक औषधि नपाइने त कहिले स्वास्थ्यकर्मी समयमै उपस्थित नहुने समस्याले सर्वसाधारण प्रभावित हुँदै आएका छन्।
अस्पतालको सेवा प्रवाह र व्यवस्थापनबारे विगतमा पनि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए पनि अपेक्षित सुधार हुन नसकेको स्थानीयको गुनासो छ। नगरपालिकाबाट अस्पतालको नियमित अनुगमन तथा निरीक्षण प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ।नगरभित्र विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा युवा समूह सक्रिय रहे पनि नगरवासीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको सुधारका विषयमा पर्याप्त चासो नदेखाइएको स्थानीयवासी बताउँछन्।
चुनावका बेला जनताको स्वास्थ्य, शिक्षा र विकासका विषयमा प्रतिबद्धता जनाउने राजनीतिक नेतृत्वले नागरिकको दैनिक जीवनसँग जोडिएको स्वास्थ्य संस्थाको सेवा सुधारमा पनि ध्यान दिनुपर्ने उनीहरूको माग छ। अस्पताल कुनै व्यक्ति वा राजनीतिक दलको निजी संस्था नभई सम्पूर्ण नगरवासीको साझा सम्पत्ति भएकाले यसको व्यवस्थापन र सेवाप्रवाह सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ।
अस्पतालमा दक्ष प्राविधिक जनशक्तिको व्यवस्था, स्वास्थ्यकर्मीको नियमित उपस्थिति,आवश्यक औषधिको उपलब्धता र प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चित गर्न नगरपालिकाले तत्काल पहल गर्नुपर्ने देखिन्छ। साथै, अस्पतालमा भइरहेका सेवा प्रवाहसम्बन्धी गुनासोको निष्पक्ष छानबिन गरी नियमित अनुगमन र प्रभावकारी व्यवस्थापन गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।




