इटहरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका खेलाडी तथा अफिसियलको सहभागितामा इटहरीमा मार्चपाससहित प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको कार्यक्रम सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष गीता तिम्सिनाको अध्यक्षतामा तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आतिथ्यतामा उद्घाटन भएको हो। कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीलगायतको उपस्थिति थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापन तथा बोर्डको टोली अनुशासनमा रहेर उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए। खेलाडीको मनोबल र क्षमता अभिवृद्धिका लागि स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार तथा मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले राष्ट्रिय खेलकुदमा समग्रमा कोशी प्रदेश प्रथम भए पाँच करोड र द्वितीय भए तीन करोड रुपैयाँ खेलाडीको क्षमता विकासका लागि उपलब्ध गराउने घोषणा पनि गरे। सबै खेलाडीलाई उत्कृष्ट प्रदर्शनसहित कोशी प्रदेशको गौरव बढाउन सफलताको शुभकामना दिए।
सामाजिक विकासमन्त्री तिम्सिनाले खेलाडीलाई आ–आफ्नो विधामा क्षमता र दक्षता प्रदर्शन गर्दै विजय हासिल गर्न आग्रह गरिन्। उनले मुख्यमन्त्रीले खेलकुद क्षेत्रको प्रोत्साहनका लागि व्यक्त गरेका प्रतिबद्धताप्रति समर्थन जनाइन्।

बोर्डका सदस्य सचिवले मुख्यमन्त्री र सामाजिक मन्त्रीले खेलकुद क्षेत्रलाई चासो दिएर आवश्यक सरसल्लाह,सहयोग प्रदान गर्दै आएको बताए। उनले दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुनसरी, मोरङ, झापा र उदयपुरमा छनोट प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिए।
कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदका विभिन्न प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछन्। मङ्सिर ८ गतेदेखि केही खेल सुरु हुने र मुख्य प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते भई मङ्सिर २६ गते समापन हुने उनले बताउदै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विजयको शुभकामना दिए।
बोर्डका उपाध्यक्ष श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सीपी पौडेलले गरेका थिए।





