जनकपुरधाम, असार १८ गते
खेतीपातीको बेला जहिल्यै मलखादको हाहाकारले किसान चिन्तत हुन्छन् । अहिले पनि धान रोपाइँ गर्न मलको अभावमा किसान छट्पटीरहेका छन् । तर सरकारले अनुदानमा किसानलाई वितरण गर्न दिएको रसायनिक मल धनुषाको बटेश्वर गाउँपालिकाले एक वर्षदेखि गोदामै थन्क्याएर राखेको छ ।
असार २०७७ मा कृषकलाई वितरणको लागि संघीय सरकारले ७० बोरा मल उपलब्ध गराएको थियो । सो मल बटेश्वर बजार स्थित साझा सहकारी संस्थाको गोदाममा वितरणको लागि राखेको थियो । तर ५० बोरा मल अझै गोदाममै थन्किएको छ ।
मल थोरै मात्रामा प्राप्त हुँदा वडाध्यक्षहरुले वितरणको लागि लिन अस्वीकार गरेकाले मल गोदाममै थन्किएको बटेश्वर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादवले बताए ।
गाउँपालिका कार्यालयले एकसाता अघि वडा नम्बर ५ लाई वितरणको लागि ७ वटा बोरा उपलब्ध गराएको जनाएको छ ।
अन्य १३ बोरा मल गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले अाफ्ना अासेपासे कृषकलाई वितरण गरेको स्रोतले बताएको छ ।
उनी अख्तियारको स्ट्रिङ अपरेशनमा गएको फागुन १७ गते ८ लाख रुपैयाँ घुस फालेर फरार भएपछि तीनमहिना पश्चात् जेठ अन्तिम साता अख्तियारबाट धरौटी राखेर जमानतमा फर्केका छन् ।
वडाध्यक्षहरुले वडापिच्छे ७ बोरा मल मात्र उपलब्ध गराउने गाउँपालिका अध्यक्ष रायतले भनेपछि वितरण गर्न नसकिने भनेर अस्वीकार गरेको बताएका छन् ।