
अमेरिका र भारतका विदेश मन्त्रीबिच बिहीबार दिल्लीमा भेटवार्ता भएको छ।
अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरबिच कोभिड–१९ महामारी, अफगानिस्तानको अवस्था तथा दुई देशबिचको हितसहितका विषयमा कुराकानी भएको छ ।
ब्लिंकेन र जयशंकरबिचको वार्तामा अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर विशेष चर्चा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री ब्लिंकेनले भारत र अमेरिकाले अफगानिस्तानको सुरक्षा मुद्दाबारे चर्चा गरेको बताए । शान्तिपूर्ण र स्थिर अफगानिस्तानको चाहना अमेरिका र भारतको रहेको उनले बताए ।
भारत अमेरिकाको विश्वसनीय सहयोगी रहेको ब्लिंकेनले बताउँदै अफगानिस्तानमा स्थिरता र विकास ल्याउनका लागि भारतले अहम भूमिका निर्वाह गरेको उल्लेख गरे ।
भारतीय विदेश मन्त्री जयशंकरले पनि अफगानिस्तानको स्थिरता र स्थायित्वमा जोड दिए । अफगानिस्तानको समस्याको सैन्य समाधान नहुनेमा अमेरिका र भारत दुवै सहमत भएको बताए ।
वार्तामा हिन्द–प्रशान्त र मध्य पूर्वको मुद्दामा पनि छलफल भएको जयशंकरले बताए ।
अमेरिकी सैनिकले अगस्टको अन्तिममा अफगानिस्तान छोड्दै छन् । अमेरिकीसहित नेटो सैनिकले छोड्दै गर्दा अफगानिस्तानमा तालिबानको पकड बिस्तार हुँदै गएको छ ।
उनीहरुबिच चीनको विषयमा पनि छलफल भएको जनाइएको छ ।