विराटनगर । स्वर संगम संगीतालय, विराटनगरले गजलकार मधु पोखरेलको एकल गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ।
असोज महिनादेखि सुरु गरिएको मासिक बैठकी शृङ्खलाको दोस्रो कार्यक्रममा आइतबार संगीतालयकै सभाहलमा गजलकार पोखरेलले आफ्ना आठवटा गजल वाचन गरेका थिए। कार्यक्रममा संगीतकार कुशेश्वर राईले पोखरेलकै दुईवटा प्रेमिल गजललाई सुमधुर संगीत र लयमा प्रस्तुत गरेका थिए।




सोही अवसरमा संगीतालयले एकल वाचन शृङ्खला एक र दुईमा सहभागी साहित्यकार तथा प्राज्ञ विवश पोखरेल र गजलकार मधु पोखरेललाई सम्मान गरियो ।

साहित्य र संगीतको संगमका रूपमा आयोजित कार्यक्रममा वाचित गजललाई संगीतालयका कलाकारहरूले मिठो संगीतमार्फत थप प्रभावशाली र जीवन्त बनाएका थिए। गजल वाचन र सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनायो।
स्वर संगम संगीतालयका प्रमुख संगीतकार कुशेश्वर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूलाई अध्यक्ष राईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि शुभलक्ष्मी लम्सालले
गरेकी थिइन् । कार्यक्रममा सयभन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।




