
ढल्केवर, धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० बरमझिया बस्ने विरेन्द्र यादवकी ६ बर्षीया छोरी प्रिति यादवको शव शुक्रबार बिहान इनारमा फेला परेको हो ।
बालिका सोमबार बिहान ९ बजे घरमै नजिकै रहेको पसलबाट फर्कने क्रममा वेपत्ता भएकी थिइन् । उनको शव घरदेखि ५ सय मिटरको दुरीमा रहेको एक इनारमा कुहिएको अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोली घटना स्थल पुगेर घटना स्थलको प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
शव प्रकृति हेदा बालकको हत्या गरेर इनारमा फालिएकोे जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जनाएको छ ।
बालिकाको आफन्तले हत्यामा स्थानीयकै संलग्नता रहेको शंका गरेका छन् । प्रहरीले बालिकाको शव इनारबाट निकाल्न लाग्दा स्थानीयले हत्या घटनाको सत्यतथ्य अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै केही बेर प्रदर्शन गरेका थिए । प्रहरीले हत्याबारे छिटो अनुसन्धान गर्ने र दोषी जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउने जनाएपछि प्रदर्शन रोकिएको थियो । मृत्तक बालिकाको बुबा विरेन्द्र कुमार यादव रोजगारीको सिलसिलामा भारतमा रहेको स्थानीयहरुले बताएका छन् ।