
राजकरण महतो (रिपोर्टरको डायरी)
इतिहासमा हराइरहेको ३०३ वर्ष पुरानो विद्यालयको अविच्छिन्न यात्राको कथा खोज्नु सहज कहाँ थियो र ? सबका सब कागजपत्र धमिराको कब्जामा परेको थियो। स्कूलसँग देखाउन पुस्तकालयमा केही किताब, पुरानो टेबल र केही पुराना कागज मात्रै थिए।अन्नपूर्ण पोस्ट्सँगको ७ वर्षे यात्रामा सम्झन लाइक समाचार हो यो। ‘३०३ वर्ष पुरानो विद्यालय, जहाँ बालागुरु षडानन्द पढेका थिए...’ शीर्षक आफैंमा ओजनदार शीर्षकसहितको समाचार हो मेरा लागि। रिपोर्टरको डायरी ओछ्यानबाट लेखिरहेको छु। रातदिनको खटाइ, घामपानी, भोकअनिन्द्राका कारण थलिएको छु। कोरोनाको कहरबिच दौडँदाका चुनौति भनिसाध्य छैन। रिपोर्टिङका क्रममा यसै पनि कोरोनोबाट दोस्रो पटक संक्रमित भएको थिएँ। भर्खरै तंग्रिएकाले फिल्डमा जाने आँटै थिएन। साउन ३ गते मात्रै महोत्तरीको बर्दिवासबाट ६२ किलोमिटर टाढाको स्कूलमा गएको थिए। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। त्यसभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको रहेछ। १९१० सालमा जंगबहादुर राणाले दरबार हाईस्कूल खोले। उनले खोलेको विद्यालय नेपालको सबैभन्दा पुरानो स्कूल भयो। १७७५ सालमा स्थापना गरिएको गुरुकुल अझै नेपालको पहिलो स्कूलमा दर्ज हुन सकेन।
