
महोत्तरी। गत असार २७ गते सेफ्टी ट्ंयाकी मुनि गाडिएको अवस्थामा शव फेला परेको सुजिता ठाकुरको हत्यामा उनको आफ्नै बुवाको समेत संलग्नता भएको प्रहरीले बताएको छ । प्रहरीले उनको बुवा कामेश्वर पाण्डेयसहित सोमवार थप तिनजनालाई सार्वजनिक गरेको हो । यो भन्दा अगावै सोहि घटनामा मृतकका देवर रुपेश ठाकुर सहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेकोमा हालसम्म सोहि घटनामा सातजना प्रहरी नियन्त्रणमा छन । यता अझै केहि थप आरोपी भएपनि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सोमवार पत्रकार सम्मेलन गर्दै मृतकका बुवाले आफ्नै छोरीलाई मार्न पटक पटक रुपेश ठाकुरलाई भनेको अनुसन्धानको क्रममा अडियो प्राप्त भएको बताए । यता मृतकका बुवाले घटना लुकाउन बार्गेनिंग समेत गरेको अनुसन्धानमा खुलेको एसपी आचार्यले वताए । उनले मृतककै नन्द भंगहा न.पा. १ वस्ने ३५ वर्षिया अंजु ठाकुरले घटना थाहा पाएर समेत लुकाएको आरोपमा पक्राउ परेकि समेत बताए । यता सोहि घटनामा शव व्यवस्थापनमा संलग्न रहेको भनि जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षिय प्रमोद भन्ने विनोद मण्डल समेतलाई पक्राउ गरिएको बताए ।
सामाजिक प्रतिष्ठाले लियो सुजिताको ज्यान ः
सुजिताको पटक पटक घरबाट आफु खुशी वाहिर जाने र मनोमानी ढंगले वाहिर जादा पैसा लिएर जाने कारणले उनको माईत र ससुराली दुवै तर्फको प्रतिष्ठामा आँच आएको र गाउ समाजमा गाईगुई हुने गरेकोले अव सहिनसक्नु भएर यसलाई मार्नु नै पर्छ भन्ने मनसायको देवर रुपेश र बुवा कामेश्वरको अडियो क्लिप प्राप्त भएको एसपी आचार्यले पत्रकार सम्मेलनमा बताए । उनले थप केहि अडियो क्लिपहरु समेत रहेको बताए ।
दुई पक्ष विचको अडियो क्लिपमा दुवै पक्ष सुजिताको कारण आजित भईसकेको र प्रतिष्ठा नै समाप्त हुन लागेकोले प्रतिष्ठा जोगाउन सुजिता मर्नै पर्ने खालको कुरा उक्त क्लिपमा गरिएको एसपी आचार्यको भनाई छ ।
प्रहरीले यसअघि लोहारपटटी नगरपालिका ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनि सोहि ठाउ वस्ने ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाई ३२ वर्षिय नथुनी मण्डल तथा सोहि ठाउका ३३ वर्षिय आदम राईनलाई पहिले सार्वजनिक गरेको थियो ।