
झापा। संवेदनशील अंगमा लुकाएर लागुऔषध नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमावर्ती क्षेत्र कदमगाछीबाट दुई महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १ हिमालीचोककी ३५ वर्षीया मञ्जु धिमाल र सोही ठाउँकी २५ वर्षीया विमला धिमाल छन्। उनीहरू दक्षिणी सीमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिका ४ बाट पक्राउ परेको सशस्त्र प्रहरी बल झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
उनीहरूको साथबाट एक सय ग्राम ब्राउनसुगर बरामद भएको छ। त्यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको जनाइएको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९विओपी० गौरीगञ्जको टोलीले उनीहरूलाई भारतबाट नेपाल छिर्दै गर्दा पक्राउ गरेको हो। शंका लागेर सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै अहिले इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा छन्। शनिबारमात्रै प्रहरीले भद्रपुर ३ को किच्चकबध नाकाबाट एक भारतीय नागरिक सहित दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत ठाकुरगञ्जका २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ का २४ वर्षीय खेमराज कुँवर छन्। उनीहरूको साथबाट २१ ग्राम २६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। तीन बोतल स्कुफ र १० पिस नाइट्रोजन ट्याबलेट बरामद गरेको उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। झापामा प्रशासनले कडा निषेधाज्ञा जारी गरे पनि लागुऔषधको कारोबार ह्वात्तै बढेको छ।
दैनिकजसो त्यस्ता कारोबारी र प्रयोगकर्ता पक्राउ परिरहेका छन्। भद्रपुरको किच्च्कबधसँग नाका जोडिएको क्षेत्रबाट मात्रै प्रहरी १२ जना बढीलाई पक्राउ गरिसकेको छ। त्यस्तो कारोबारमा सम्लग्न भारतीय नागरिक, महिला तथा बाहिरी जिल्लाका मानिस धमाधम पक्राउ पर्नुले झापा लागुऔषध ओसारपसारको अखडामा रुपान्तरण भएको प्रष्ट हुन्छ। आयोमेल