
महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा विहिवार कोरोना भाइरस (कोभिड १९) को माहामारीसँग जुध्न सामुदायिक तथा नगरस्तरीय संघसंस्थाहरुले खेल्लु पर्ने भुमिकाको विषयमा अभिमुखिकरण गरिएको छ । विश्वभरि तिव्र गतिमा फैलिएको कोरोना भाइरसको महामारी विरुद्ध लड्न सामुदायिक तथा नगरस्तरीय संघ संस्थाहरुको सामाजिक परिचालनमा योगदान, भूमिका तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित ओम एकडेमी इंगलिश बोर्डिंग स्कुलमा आयोजना गरिएको सो अभिमुखिकरणमा करिव दुई दर्जन सामुदायिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई कोभिड १९ महामारी विरुद्ध लड्न अपनाउनु पर्ने सावधानी, स्वास्थ सावधानी सम्बन्धी नेपाल सरकारले जारी गरेको निर्देशिका, क्वारेन्टाईन, आइसोलेशन, अस्पताल, होम क्वारेन्टाईनमा अपना पर्ने र पालना गर्नुपर्ने नियम, मापदण्ड तथा त्यसको व्यवस्थापन लगायतको विषयमा सहजीकरण गरिएको थियो । यस्तै कोभिड १९ नियन्त्रणका लागि स्थानीय सरकारको दायित्व र स्रोत व्यवस्थापनको विषयमा समेत जानकारी गराइएको थियो । यता कार्यक्रममा सहभागी संघसंस्थाका पदाधिकारीहरुले सरकार, विभिन्न सामुदायिक संघसंस्था तथा संचार क्षेत्रले कोरोना महामारी नियन्त्रणमा अहम भूमिका खेलेको बताएका थिए । कार्यक्रममा सपोर्ट नेपालका प्रकाश ठाकुर र शत्रुधन महतोले सहजीकरण गरेका थिए ।