
जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले आज किसान आन्दोलनकाे नाममा उग्र प्रदर्शन गर्दै जनकपुरधाममा सात वटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पु¥याएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार भएको राष्ट्रिय सभा चुनाव बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले सरकारी गाडीहरुमा तोडफोड गरेर क्षति पु¥याएका हुन् ।
जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गरेर जनता समाजवादी पार्टीका प्रदेश सभासदस्य अशोक यादव सवार गाडीमा तोडफोड गरे । जनमतका कार्यकर्ताले गरेको लाठी प्रहार प्रदेश सभा सदस्य यादवको हात पनि भाँचिएको छ ।
प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ–००८० र ना १ झ १६७४ नम्बरको गाडी सहित सात वटा गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए। डिएसपी रायले झडपका क्रममा जनमतका आठ जना कार्यकर्ता र चार जना सुरक्षाकर्मी घाइते भएको जनाए ।
सरकारी गाडी तोडफोडमा संलग्न आराेपमा ६ जना जनमतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको रायले बताए ।
राउतका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाई र उममेयर रेणुका पौडेल सबार गाडीमा समेत ताेडफाेड गरे। उनिहरूकाे आक्रमणमा परि नगर प्रमुख घाइते भएका छन्।
जनमतका कार्यकर्ताले किसान आन्दोलन भन्दै जनकपुरधाम स्थित महेन्द्रनरायण निधि समृति भवनमा राखिएको मतदान केन्द्र अगाडि ‘पहिला मल देऊ, त्यसपछि मत खसाल’ भन्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।जनकपुरधामको विभिन्न स्थानमा जनमतका कार्यकर्ताले गरेको प्रदर्शनलाई तथा स्थितिलाई नियन्त्रणमा लिनेक्रममा जनमतका कार्यकर्ता तथा प्रहरी बीच झडप भएको छ ।घाइते कार्यकर्ता तथा प्रहरीेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम सहित अन्य निजी स्वास्थ्य संस्थाहरुमा भइरहेको छ ।
यसैगरी, जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदैगर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ । प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदैगर्दा उनि माथि आक्रमण भएको हाे।