जनकपुरधाम।नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नभएका १३ जिल्ला मध्ये धनुषामा कार्तिक २८ गते आइतवार वडा अधिवेशन हुने भएको छ । वडा अधिवेशनको रौनकसंगै धनुषामा पनि महाधिवेशनको प्रक्रिया शुरु भएको छ ।
धनुषाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तहको १६९ वडामा कार्तिक २८ गते नेपाली काँग्रेसका वडा अधिवेशन हुँदैछ ।
वडा अधिवेशनले पार्टीको वडा सभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरु सहित ९ देखि ११ सदस्यीय कार्य समिति चयन गर्नेछ । समितिका कोषाध्यक्ष भने वडा सदस्यहरुबाट मनोनित गर्ने प्रावधा रहेको छ।
वडा अधिवेशनले प्रत्येक वडाबाट १५ देखि २५ जना सम्म क्षेत्रिय प्रतिनिधि चयन गर्नेछ। पार्टीका जनकपुरधाम नगर सभापति मनोजकुमार साहक अनुसार १५० क्रियाशिल सदस्य भएका वडामा १५ जना क्षेत्रिय प्रतिनिधि छनौट गरिनेछन् भने २५० भन्दा बढी क्रियाशील सदस्य भएका वडामा २५ जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुने वैधानिक व्यवस्था छ ।
जसअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका ५ वटा वडामा २५ जना र अन्य २० मा १५ जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा अधिवेशनले ने बुथ कमिटि गठन गर्नेछ ।
१५ जना क्षेत्रिय प्रतिनिधि भएका वडामा खुला तर्फ ९ मध्ये ६ पुरुष र ३ महिला तथा दलित, आदिवासी, जनजाती, खसआर्य, मुश्लिम र अल्पसंख्यक तर्फ ४ पुरुष र २ महिला निर्वाचित हुनेछन् । २५ जना क्षेत्रिय प्रतिनिधि चयन हुने वडाको अनुपात भने यसरी नै रह्ने छ ।
क्षेत्रिय प्रतिनिधिहरुले नगर सभापति, क्षेत्रिय सभापति र जिल्ला सभापति पदका लागि उम्मेदवार तथा मतदाता हुनेछन् ।
क्षेत्रिय प्रतिनिधिहरुले नै जिल्लाका प्रत्येक प्रदेश सभा क्षेत्रबाट १५ जनाका दरले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछन् भने केन्द्रिय महाधिवेशनका मतदाताका रुपमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन् ।
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि र नेपाली काँग्रेस प्रदेश र संसदीय दलका नेता राम सरोज यादवको निर्वाचन क्षेत्र समेत रहेको धनुषाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय तह र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले अन्तिम समय सम्म भने सहमतिको प्रयास भने जारि नै रहने काँग्रेस धनुषा सभापति महेश शंकर गिरिले बताए ।




