
जनकपुरधाम- धनुषाकी आरती साह माथि एसिड प्रहार गर्ने उनको पति संजिव साहलाई जिल्ला अदालत धनुषाले कैद सजाय सहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ ।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष ६ महिना कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिए ।
गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नम्बर-३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो ।
गत कात्तिक २९ गते दिपावली कै दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर संजीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकि काठमाडौं ल्याएर उपचार गरिएको थियो। आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिडले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो। छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचारपछि डिस्चार्ज गरिएको थियो। आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए भने संजिवको बयानको आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्ता पछि पक्राउ गरिएको थियो ।

घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जना बिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दावी गरिएको थियो । अंगभंगमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकिकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो ।यस मुद्दामा यसअघि ६ वटा पेशी भएपनि विभिन्न कारणले स्थगित गरिएको थियो ।
४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा निवासी संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती लगायतका शरीरको आधि अंग जलेर कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरती माथि सञ्जिवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन् ।
तरकारी बेचेर गुजारा चलाउँदै आएकी आरती र सञ्जीव बीच पाँच वर्षअघि विवाह भएको थियो। बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए। सम्पत्ति लेनदेनका विषयमा दुईजनाबीच झगडा हुँदै आएको थियो। धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जिव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्। केही वर्षअघि पनि सञ्जिवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।
श्रीमान् संजिव साहलाई जिल्ला अदालतले एसिड प्रहार गर्दै ज्यान मार्ने अभिप्राय लिएको भन्दै दोषी ठहर गरेको हो। सम्पत्तिको कुरा नमिलाएको भन्दै उनले अलग बसेकी श्रीमतीलाई डेरामा पुगेर एसिड प्रहार गर्नु अक्षम्य अपराध भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।