
नवलपरासी - अविरल वर्षाका कारण पश्चिम नवलपारासीका विभिन्न क्षेत्र डुबानमा परेको छ। झरई खोलाको बाढी बस्तीमा पसेपछि परासी बजार क्षेत्र डुबानमा परेको हो। पानीको सतह बढी भएकाले उद्धारमा खटिन पनि कठिनाई भैरहेको प्रहरीले बताएको छ।

सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुबानमा परेको छ। वडा नम्बर १० भुडिया टोल डुबानमा परेको छ। बाढीले अन्नपात, लत्ताकपडा र बस्तुभाउ बगाएको स्थानीयले बताएका छन्। रातको समयमा बाढी पसेकाले मानिसहरु कोही घरको छत तथा अग्लो ठाउँमा गएर ज्यान जोगाएका थिए।

डुबानमा परेका २१ जनालाई राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उद्धार गरेको स्थानीय रुपा काफ्लेले जानकारी दिइन्। बाढी प्रभावितलाई खकरीबारीमा रहेको देवकोटा माध्यमिक विद्यालयको भवनमा राखिएको छ।

सुनवल–३ मा पनि डुबान भएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने सुनवलस्थित तुरियाखोलाको पुल जोखिममा परेको छ। पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। पूर्व–पश्चिम राजमार्गमा बनाइएका डाइभर्सनहरुमा बाढी बगेका कारण यातायतका साधन सञ्चालन हुन नसकेको प्रहरीले बताएको छ।

बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरु पनि डुबानमा परेका छन्। वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ। धौलागिरी टोलका केही बस्ती डुबानमा परेका छन्। वडा नम्बर ६ मा पनि डुवान भएको छ। वडा नम्बर ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुवानमा परेको वडा नम्बर ११ का वडा अध्यक्ष तीर्थराज फौजदारले जानकारी दिए। बर्दघाट नगरपालिकाको वडा नम्बर ५, वडा नम्बर १२ लगायत अन्य क्षेत्रमा पनि डुबान भएको छ।

सरावल गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर १ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार झरही खोलाको बाढीका कारण परासी हाटबजार, मुख्य बजार लगायतका क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रशासन कार्यालय परिसर पनि डुबानमा परेको उनले बताए।

डुबानका कारण जोखिममा परेकाहरुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरिएको मिश्रले बताए।

नारायणी नदीमा पनि पानीको बहाव बढिरहेको छ। शुक्रबार बिहान ६ बजेको मापन अनुसार ४ लाख ४ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए। वर्षा नरोकिएकाले सबैलाई सचेत रहन र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जानका लागि प्रजिअ मिश्रले आग्रह गरेका छन्।

