
महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ मटिहानी बाजारमा नवनिर्मित आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन एवं कार्यालयको उद्घाटन गरिएकाे छ ।एक समारोहबीच साेमबार मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र जग्गादाता योगेन्द्रप्रसाद साहले संयुक्त रूपमा भवनकाे उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख मण्डलले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न पालिका प्रतिबद्ध रहेको बताए । उनले पालिकाका नौ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना भएकोमा खुसीसमेत व्यक्त गरे ।सो आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन बनाउन मटिहानी नगरपालिका-८ बस्ने योगेन्द्रप्रसाद र पत्नी जिवछदेवी साहले करिब एक करोड रुपैयाँ मूल्यबराबरकाे १३ धुर जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
तीन काेठे सो भवन ३७ लाख ४२ हजार रुपैयाँको लागतमा निर्माण भएको मटिहानी नगरपालिकाका इन्जिनियर विमलेशकुमार साहले बताए ।मटिहानी नगरपालिका-८ का वडाध्यक्ष गणेशप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा ६ का वडाध्यक्ष रामबाबु नायक, मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मा, योजना अधिकृत राजेश शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह, पार्टी प्रतिनिधि शङ्कर साह (एमाले), नागेन्द्रलाल कर्ण (जसपा), शिक्षा संयोजक चन्देश्वर साह, अरुण नाहर, रामजी मण्डललगायत वक्ताहरुले आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन निर्माण भएकोमा खुसी व्यक्त गरे ।


