
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने भएको छ।
बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरी कोरोनाले रोकिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ। बोर्डले परीक्षा गत साउन ३१ गते सुरू गर्ने गरी तालिकासमेत सार्वजनिक गरिसकेको थियो।
तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै परीक्षा रोक्न प्रस्ताव गरेपछि बोर्डले साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरेको थियो। बोर्डका अनुसार करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी हुने छन्।