
महोत्तरी। प्रदेश नम्बर २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका जसपाका नेता सरोजसिंह कुशवाहाले मंगलबार आफ्नो गृहगाउँमा शक्ति प्रदर्शन गर्दै दर्जनौँ भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको झण्डा झुन्ड्याएर गाउँको परिक्रमा गराएका थिए ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ स्थित सरपल्लोमा आयोजित एक कार्यक्रममा सहभागी हुनु पूर्व आयोजना गरिएको मोटरसाइकल र्यालीको क्रममा दर्जनौँ सङ्ख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको छाता अङ्कित झण्डा झुन्डाइएको थियो ।
लामो समय देखि भारतबाट नेपाल प्रवेश गर्ने सिमानाका क्षेत्रहरू बन्द छ । यस्तो अवस्थामा बन्द रहेकोले भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा चलाउन पूर्णरुपमा प्रतिबन्ध पनि गरिएको छ । तर पनि निर्वाधरुपमा भारतीय नम्बरका मोटरसाइकल सहितका सवारी साधनहरू निर्वाधरुपमा चलाइएको पाइएको छ ।
पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाले मन्त्रीको पदबाट राजीनामा दिएको एक महिना भन्दा लामो समय बितिसक्दा पनि सरकारी गाडी सहित १८ वटा सामग्रीहरू आफूसँगै लिएर प्रदेश सरकारसँग सम्पर्कविहीन भएका छन् ।
राजीनामा दिएर घर फिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडी लगायत १८ वटा महत्त्वपूर्ण सामग्रीहरू समेत उनी आफूसँगै लिएर गएका छन् । प्रदेश सरकारले समेत सरकारी सवारीसाधन सहित सामग्रीहरू फिर्ताका लागि कुनै किसिमको कारबाही प्रक्रिया अपनाइएको छैन ।