महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बिपी राजमार्ग सञ्चालनमा आएको छ।आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच मौखिक सहमति भएपछि शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
गत जेठ ११ गते स्थानीयवासी र वन प्रशासनबीच भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोबासीले राजमार्ग अवरुद्ध गरेका थिए।



जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गर्न वन कर्मचारी पुगेपछि स्थानीयवासीले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए।

सोही क्रममा बर्दिबास नगरपालिका–३ कालापानीमा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनीसमेत भएको थियो।उक्त घटनापछि घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घाइतेको उपचार राज्यले गर्ने तथा घटनामा संलग्न कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगर्ने विषयमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच सहमति भएको स्थानीयवासीले बताएका छन्।
तर, प्रहरीले घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीयवासी पुनः आक्रोशित भएका हुन्। घटनामा चार जनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपितहरू निर्दोष रहेको दाबी गर्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो।अल्टिमेटमको अवधि शुक्रबार सकिएपछि स्थानीय सुकुमबासी तथा अव्यवस्थित बसोबासीले शनिबार बिहानैदेखि बिपी राजमार्ग अवरुद्ध गरेका थिए।
राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले आन्दोलनरत पक्षसँग समन्वय गर्नुभएको थियो। समन्वयपछि मौखिक सहमति जुटेसँगै राजमार्ग सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो।
राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। मुद्दा फिर्तालगायत स्थानीयवासीका मागका विषयमा भने थप छलफल हुने बताइएको छ।





