
जनकपुरधाम- १४ औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेस प्रदेश-२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन ।
७ प्रदेशमध्ये ६ वटा प्रदेशमा कांग्रेसको वडा अधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन सकेन ।
कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
कांग्रेसको घोषित निर्वाचन समय तालिका अनुसार भदौ १८ गते वडा अधिवेशन, २० गते पालिकास्तरीय अधिवेशन, असोज २ गते प्रदेश, ५ गते निर्वाचन क्षेत्र तथा १० गते जिल्ला अधिवेशन हुनुपर्ने हो । तर प्रदेश २ का ८ जिल्ला सहित मुलुकका अन्य जिल्लाहरुमा समेत क्रियाशील सदस्यता सम्बन्धी विवादको कारण वडा अधिवेशन हुन सकेको छैन ।
काग्रेस धनुषाका सभापति गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहेपनि नयाँ सदस्यता सम्बन्धी विवाद रहेको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ को सदस्यता विवाद रहेको उनले बताए ।
‘ति क्षेत्रमा क्रियाशिल सदस्यता सम्बन्धी फर्म भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरुले केन्द्रीय सर्कुलर अनुसार फर्म नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानबिन समितिले हेरिरहेको छ’, गिरीले भने ‘दुवै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडा अधिवेशन छिट्टै शुरु हुनेछ।’
निर्वाचन क्षेत्र नम्बर १ र ४ को सदस्यता विवाद सुल्झाउन पूर्व राष्ट्रपतिका पूत्र तथा पूर्व सांसद चन्द्रमोहन यादव साउन ३ गतेदेखि १२ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा अनशन समेत बसेका थिए उनलाई समर्थन क्षेत्र नम्बर-१ का पूर्वसांसद प्रेमकिशोर साहले गरेका थिए ।
पूर्व सांसद चन्द्रमोहन यादवले क्षेत्रीय सभापति योगेन्द्र पंजियार तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले ८ सय ८३ जनालाई केन्द्रीय परिपत्र तथा निर्देशिका विपरीत सदस्यता दिएको आरोप लगाएका छन् । यादवले भने, ‘केन्द्रीय नेताहरुले सदस्यता विवाद यथाशिघ्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडे तर हालसम्म समस्या समाधान भएको छैन ।’
प्रदेश २ को ८ वटै जिल्लामा एक साताभित्रै वडा अधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश २ कांग्रेस संसदीयदलका नेता रामसरोज यादवले जानकारी दिए। उनले प्रदेशभरीको कृयाशिल सदस्यता सम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे।