
महोत्तरी- किशोरकिशोरीको लागि प्रजनन स्वास्थ्य कार्यक्रममा महोत्तरी जिल्लामा शुभारम्भ भएको छ।
USAID को आर्थिक सहयोगमा CARE Nepal को नेतृत्वमा Associations of Youth Organizations Nepal (AYON), Howard Delafield International, Jhpiego and CRS Company तथा रतौली युवा क्लव (RYC) महोत्तरी को संयुक्त साझेदारीमा संचालित “USAID/Adolescent Reproductive Health” (किशोरकिशोरीहरुका लागि प्रजनन् स्वास्थ्य) परियोजना जेष्ठ २०७९ देखि जेष्ठ २०८४ सम्म संचालन हुने छ।

परियोजनाका स्थानीय साझेदार संस्था आरवाइसीका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमन कर्णकाे प्रमुख आतिथ्यतामा बुधवार जलेश्वरमा आयोजित परियोजनाको परिचायत्मक कार्यक्रममा जिल्लाको ८ वटा पालिकाहरुमा अहिले यो कार्यक्रमको शुभारम्भ भएको जानकारी दिइएको छ।

केयर नेपालका यस परियोजनाका मधेस प्रदेश संयोजक विजय झाले यस परियोजनाले १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल भएको जानकारी दिए ।

झाले किशोर किशोरीहरुलार्ई घरपरिवार तथा समुदायबाट स्वस्थ आचरणको अभ्यासद्वारा उनीहरुको आफ्नो पूर्ण सक्षमतामा पुर्याउन सहयोग गर्ने र यसका साथै सार्वजनिक प्रणाली एवं निजी संस्थाहरूलाई किशोरकिशोरी मैत्री सेवा सुविधा प्रदान गर्दै उत्पादकत्व बृद्धिको निम्ति सबलीकरण गर्दै जाने मुख्य लक्ष्य यस परियोजनाको रहेको जानकारी दिए ।

उनले यस कार्यक्रमको मुख्य उद्देश्य घरायसी तथा सामुदायिक तहमा सकारात्मक सामाजिक मान्यताबाट किशोर किशोरीहरुलाई सहजीकरण गर्दै स्वस्थकर व्यवहार अपनाउने अभ्यासमा अभिवृद्धि गर्ने , किशोर किशोरीहरूका लागि गुणस्तरीय परिवार योजना र प्रजनन् स्वास्थ्य सेवा सुविधा तथा उत्पादकत्व बृद्धि र पहुँचमा अभिवृद्धि गर्ने र सफल तथ्याङ्कीय अवधारणामा सार्वजनिक र निजी क्षेत्रहरू मार्फत किशोर किशोरी प्रजनन स्वास्थ्य सेवालाई संस्थागत गर्दै लैजाने रहेको बताए ।
परियोजनाबाट तत्काल देखिने प्रभावहरुमा किशोर किशोरीहरु आफ्नो प्रजनन् स्वास्थ्यका बारेमा राम्रोसँग बुझ्न, स्वास्थ्य सम्बन्धी निणर्य लिन सशक्त तथा स्वस्थ व्यवहार अपनाउन दक्षताको विकास भएको हुने, किशोर किशोरीका लागि किशोर किशोरी मैत्री परिवार योजना तथा प्रजनन् स्वास्थ्य सेवासुविधा तथा उत्पादनहरू हरेक स्थानीय तहहरुमा उपलब्ध र पहँुचयोग्य भएको हुने र सफल अवधारणाहरु र बिधिहरुद्वारा किशोर किशोरी परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवाको संस्थागत विकास हुने रहेको परियोजनाका मधेस प्रदेश संयोजक झाले बताए ।

उनले कार्यक्रमको दुरगामी प्रभावहरु जानकारी दिंदै भने, “किशोरकिशोरीमा परिवार योजना तथा प्रजनन् स्वास्थ्यमा सुधार हुने, स्वेच्छिक परिवार योजनामा सुधार हुने, बालविवाह, छिटो हुने विवाह तथा जवरजस्ती विवाहमा कमी हुने, स्वस्थ, समयानुकूल तथा उचित समयान्तरमा हुने गर्भधारणमा वृद्धि हुने, अनिच्छित गर्भधारणमा कमी हुने, रजस्वला स्वच्छताको अभ्यासमा सुधार हुनेछ र पढाइमा निरन्तरता दिने प्रवृत्तिमा वृद्धि हुनेछ ।”
आरवाइसीका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निणर्य लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निणर्य लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निणर्यहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूणर् क्षमताको विकास गर्नु रहेको जानकारी दिए।
उनले यो कार्यक्रम महोत्तरी जिल्लाको गौशला, औरही, सोनमा,सम्सी, रामगोपालपुर, भंगहा, लोहापट्टी, र बलवा पालिकामा संचालन हुने जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, परियोजना संचालन हुने सबै पालिका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य, शिक्षा र महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख लगायत विभिन्न सरोकारबाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा यस परियोजनालाई प्रभावकारी ढंगले उपलब्धी हासिल गर्ने हिसाबले संचालन गर्न सबै पक्षीयबाट सुझाव व्यक्त गरिएको थियो ।