
जनकपुरधाम - नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिए संगै जिल्ला सभापतिका आकांक्षीहरु पनि अगाडी आउन थालेका छन् ।
उपसभापति बिमलेन्द्र नीधिको गृह जिल्ला धनुषामा पनि उम्मेदवार छनोट बारे व्यापक चर्चा सुरु भएकाे छ । आकांक्षी धेरै भएपनि निधिको आशिर्वाद प्राप्त गर्न सफल भए मात्र सभापति बन्न सक्ने संभावना बलियो हुने बताइन्छ ।
धनुषाका वर्तमान सभापति महेश शंकर गिरि नै निधिको पहिलो रोजाईमा पर्ने गिरि निकट एक जिल्ला सदस्यको भनाई छ । सर्वसम्मतिबाट सभापति चयन हुने हो भने वर्तमान सभापति गिरि नै हुने उनले ठोकुवा गरे ।
जिल्ला नेतृत्वको लागि निधि समुहबाटै योगेन्द्र पजियारको व्यापक चर्चा छ।पजियारले आफ्नो उम्मेदवारी सुनिश्चित बताउँछन् । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख समेत रहेका पजियार सभापति पदका बलिया उम्मेदवार मानिएको छ । दुई दुई पटक क्षेत्रिय सभापति चलाइ सकेका पजियार यस पटक जिल्ला सभापतिको लागि तयारी रहेको र आफूलाई सबै तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी प्रफुल्ल राज धिमिरे, राज किशोर सिंह, किशोरी साह, प्रदिप यादव , कुवँर कान्त झा पनि सभापतिको आकांक्षी हुन्। त्यसैगरि जिल्ला उपसभापति संतोष यादवले पनि सभापतिमा उम्मेदवार दिने चर्चा छ । यादव केन्दमा पौडेल समुहमा रहेपनि धनुषामा निधि गुटमा नै रहेको दाबि गर्छन् ।
त्यसैगरि निधि इतर पक्षबाट दिनेश प्रसैला, विशेश्वर प्रसाद यादवको पनि उम्मेदवारीको चर्चा छ । निर्धारित समय भन्दा ३ वर्ष ढिलो भएको अधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका वर्तमान सभापति गिरिको एक पटक दोहोरिने चाहना प्रबल छ । गिरि निधिको विश्वास पात्र मानिन्छन ।
त्यसैगरि करिब चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका युवा नेता प्रफुल्ल राज धिमिरेले पनि यस पटक सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । घिमिरेलाई पत्रकारिता जगतमा पनि प्रभावशालि व्यक्तित्वको रुपमा लिइन्छ । धनुषामा राम्रो पहिचान बनाएका कारण एक ढिक्का भएर उम्मेदवारी दिए घिमिरेले चुनाव सहजै जित्ने कांग्रेस कार्यकर्ताहरु बताउछन् ।
त्यसैगरि निधि गुटका राज किशोर सिंहले पनि नेतृत्वको चाहना व्यक्त गरेका छन् । धनुषा जिल्ला कार्यसमितिमा रहि सचिवको जिम्मेवारी निर्वाह गरि सकेका सिंहले पनि मौका पाउनुपर्ने कांग्रेस कार्यकर्ताहरुको धारणा छ ।
त्यस्तै निधि इतर समुहबाट पुर्व सांसद दिनेश प्रसैलाको दावेदारी छ । सभापतिका लागि आकांक्षा व्यक्त गरेका प्रसैला धनुषाका सक्रिय तथा लोकप्रिय नेता हुन । वर्तमान जिल्ला सचिव विशेश्वर प्रसाद यादव पनि नेतृत्वको आकांक्षी हुन। नेपाली कांग्रेसमा राम्रो छवि बनाएका यादवले उम्मेदवारी दिए जिल्लाको समिकरण नै फेरिने कांग्रेसी कार्यकर्ताको बुझाई छ । महाधिवेशनको तालिका अनुसार असोज १० गते जिल्लाको अधिवेशन छ ।