जनकपुरधाम- प्रदेश २ मा जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा १६ जना सांसद र ८६६ स्थानीय तहका जनप्रतिनिधि र नेकपा एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा १३ जना प्रदेश सांसद र ३१३ स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गरेका छन् ।
जसपा र नेकपा एमाले विभाजन भएपछि निर्वाचन आयोगले सांसदहरूलाई नयाँ पार्टी रोज्नको लागि दिएको आज सम्म दिएको समय अनुसार उनिहरुले नयाँ दल तर्फ सनाखत गरेका हुन् ।
जसपा नेपाल परित्याग गरी लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, जितेन्द्र सोनल, अभिराम शर्मा, प्रह्लाद गिरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी र डा.डिम्पल झा रहेका छन् ।
त्यस्तै, नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, हसिमा खातनु, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र डिल्लीप्रसाद उप्रेतीले सनाखत गरेका छन् ।
प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेका थिए ।
त्यसैगरी, प्रदेशसभामा नेकपा एमालेका २१ जना सांसद थिए । एमालेका २१ मध्ये १३ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि प्रदेश २ को प्रदेशसभामा केपी शर्मा ओली भन्दा माधवकुमार नेपाल पक्ष बलियो देखिएको छ ।
लोसपामा ८६६ र नेकपा (एस) मा ३१३ जना स्थानीय तहका जनप्रतिनिधिले गरे सनाखत
त्यस्तै प्रदेश २ मा जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा ८ सय ६६ र नेकपा एमालेसँग छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा ३ सय १३ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् ।
जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी पार्टीमा महोत्तरीका २५८, बाराका १३८, सर्लाहीका १३७, धनुषाका १०९, सप्तरीका ९६, रौतहटका ८८, पर्साका २८ र सिरहाका १२ जना स्थानीय तहका सदस्यहरूले सनाखत गरेका हुन् ।
त्यस्तै, नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पक्षमा रौतहटका ८४, सिरहाका ६१, सर्लाहीका ४८, धनुषाका ४८, बाराका ३२, सप्तरीका २९, महोत्तरीका ६ र पर्साका ५ जना स्थानीय तहका सदस्यहरूले सनाखत गरेका छन् ।
लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २५८ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमा ६ पालिकाका प्रमुख, १० पालिकाका उपप्रमुख र ४४ जना वडाध्यक्ष रहेका छन् ।
धनुषाका १०९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेकोमध्ये १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख रहेका छन् भने १४ जना वडाअध्यक्षले लोसपा रोजेका छन् । त्यस्तै, २ जना उपप्रमुख र ८ जना वडाअध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् ।
सप्तरीका १ मेयर र ३ उपमेयर, धनुषाका १ मेयर र २ उपमेयर, महोत्तरीका ६ मेयर र १० उपमेयर, सर्लाहीका ५ मेयर र ४ उपमेयर, रौतहटका १ मेयर, बाराका ३ मेयर र ५ उपमेयर, पर्साका २ उपमेयरले जसपाबाट लोसपामा सनाखत गरेका छन् ।
त्यसैगरी, सप्तरीमा एमालेबाट नेकपा (एस) मा ३१ जनाले सनाखत गरेकामध्ये २ जनाले सनाखत फिर्ता लिन पाउँ भन्दै निवेदन दिएका छन् भने जसपाबाट लोसपामा सनाखत गरेका १ जना जनप्रतिनिधिले सनाखत फिर्ताका लागि निवेदन दिएका छन् ।
नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ ।
प्रदेश निर्वाचन कार्यालयमा भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रदेशसभा सदस्य तथा स्थानीय तह सदस्यहरुको पार्टीगत सनाखत सम्पन्न भएको हो ।