
धनुषा- प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ७ पुगेको छ ।
दुई वटा पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले वैधानिकता पाएसंगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ७ पुगेको हो ।
पार्टी विभाजन हुनु अघि प्रदेशसभामा जनता समाजवादी पार्टी सँग ५५, नेकपा एमालेसँग २१, नेपाली काँग्रेस सँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद रहेका थिए ।
जनता समाजवादी पार्टी फुटेर दुई दल बने पछि जसपाबाट १६ जना प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् भने नेकपा एमाले छोडेर नेकपा (एस) मा १३ जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । योसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमा लोसपा तेस्रो ठूलो शक्ति बनेको छ भने माधव नेतृत्वको नेकपा (एस) नेकपा एमालेलाई पछाडी पार्दै चौथो ठूलो शक्ति बनेको छ ।
अब प्रदेश २ को प्रदेशसभामा जसपा ३९ जना प्रदेशसभा सदस्य सहित सबैभन्दा ठुलो शक्ति बनेछ । तेस्रो दलको रुपमा रहेको काँग्रेस १९ जना प्रदेशसभा सदस्य सहित दोस्रो दल बनेको छ ।
त्यस्तै लोसपा १६ जना प्रदेशसभा सदस्य सहित तेस्रो दल बनेको छ भने नेकपा (एस) चौथो ठुलो दल बनेको छ । पार्टी विभाजन अघि दोस्रो ठुलो दलको रुपमा रहेको एमाले अब ८ जना प्रदेशसभा सदस्यमा सिमित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रसँग समेत ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।