
जनकपुरधाम। प्रदेश २ सरकारले बन्द भई जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को प्रयोग विहीन रहेको पावर हाउस र छापाखाना लिई संचालन गर्नको लागि पहल थालेको छ ।
जचुकालि बन्द भएसँगै प्रयोगमा नरहेका पावरहाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो ।
केहि दिन अघि आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारी सहितलाई लिएर पावरहाउस र छापाखानाको निरीक्षण गरेका थिए ।
प्राविधिकहरुले समान्य मर्मत सम्भार गरिए संचालन गर्न सकिने बताएको थिए ।
जचुकालिको पावरहाउसमा विभिन्न ५ वटा पावरफुल जेनरेटरहरु छन् । विजुली बत्ति गएको वेलामा काम प्रभावित हुने भएकोले प्रदेश सरकारले पावर हाउस लिन लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बताए । त्यसैगरी जचुकालिको रंगिङ छापाखाना लामो समयदेखि प्रयोग विहीन रहेकोले संचालन गर्नको लागि जिम्मा दिन संघीय सरकारसँग आग्राह गरेको छ ।
पावरहाउस र छापाखाना लिनको लागि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, संघको उद्योग मन्त्रालय र नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयमा समेत पत्रचार गरिसकेको छ ।
‘पावरहाउस र छापाखाना संचालनको लागि संघीय सरकारलाई आग्रह गरेका छौ,मन्त्री साहले भने,‘ संघीय सरकारले सकारात्मक रुपमा लिएका छन्, संघीय सरकारको मन्त्रीपरिषद विस्तार भएपछि यो प्रक्रिया अगाडी बढ्नेछ ।’
प्रदेश सरकारको आफ्ना छापाखाना नहुदाँ वर्षेणी करोडौं रुपैयाँ छपाईमा खर्च गर्दै आएकोमा अव आफ्नो छापाखाना भएको खण्डमा प्रदेश सरकारको खर्च कटौटि हुने मन्त्री साहले बताए । ‘
चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, तर हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना संचालन हो । त्यो संचालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्नेछ ।’
उत्पादन र काम पनि राम्रो बन्दै गएपछि २०४४ सालमा सबैभन्दा बढी ४ हजार ७ सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए। २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो। तत्कालीन खिलराज रेग्मीको सरकारले कार्यरत कर्मचारीहरुलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो। कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे सात सय कर्मचारी कार्यरत थिए ।
कारखाना बन्द पश्चात् जचुकालिको ३३ बिघा ९ कठ्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो।
तीन भागमा छुट्याइएको क्षेत्रफलमा ८ बिघामा कारखानाको भवन, २० बिघामा आवास भवन र ५ बिघामा गोदाम छन्। कारखाना सञ्चालन भएका बेला कर्मचारीहरूको आवासका लागि २५ वटा भवन बनाइएको थियो। जसमा सयौं कोठा छन्।
कारखानाको जनकपुरमा मात्र नभई नेपालभरि २६ वटा छुट्टाछुट्टै सहरमा जग्गा र दुई ठाउँमा कार्यालय भवन निर्माण गरिएका छन्। जग्गा थुप्रै बिक्री भइसकेका छन् भने भएकाहरू पनि खाली चौरको रूपमा प्रयोग विहीन छन्।
बुटवलमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको दुईतल्ले भवन हाल एक जना कुरुवाको भरमा प्रयोगविहीन अवस्थामा छ भने नारायणगढमा रहेको भवन पनि प्रयोगमा छैन।
धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगन्ज, पोखरा, नारायणघाट, नेपालगन्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा अहिले पनि कारखानाको अर्बौं मूल्यका जग्गा प्रयोगविहीन अवस्थामा रहेको छ ।
यस क्षेत्रका किसान तथा सर्वसाधारणका लागि जीवनयापन गर्ने ठूलो साधनको रूपमा यो कारखानाको विकास भए पनि २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भए पछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा त्यहीँबाट यसको अवसान सुरु भएको कारखानाका अवकास प्राप्त कर्मचारी क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर निवासी गणेशबहादुर आले बताउँछन्।
आलेका अनुसार सरकार परिवर्तन भए लगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धरासायी भएको हो।
सफल बन्दै गएको र सरकारलाई पनि नियमित राजस्व तिर्दै गएको कारखानाको राजस्वमा पछि कमी आउन थालेपछि त्यसको प्रभाव हरेक क्षेत्रमा पर्न थाल्यो। यस क्षेत्रको विकासमा ठूलै योगदान दिन सक्ने जचुकालि धरासायी हुँदा उद्योग तथा व्यापारमा निकै नोक्सानी भएको यहाँका व्यापारीहरू बताउँछन्।
यस क्षेत्रकै पहिचानको रूपमा रहेको जचुकालि खारेज भइसक्दा पनि सरकारले यसका सम्पत्तिहरू उचित व्यवस्थापन गर्न नसक्दा विनास हुने क्रम बढेको हो।
अहिले कारखानाको भवनमा प्रदेश नं. २ को प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारको कार्यालय र मन्त्री निवास राखिएको छ। सरकारले कारखाना सञ्चालन गर्न नसकेर बन्द भएपछि खाली रहेको भवनमा प्रदेशको कार्यालय स्थापना गरिएको छ।
उद्योगको लगानी, भौतिक पूर्वाधार र उद्योगभित्र रहेको कच्चा पदार्थ संरक्षणका लागि सम्बन्धित निकाय मौन देखिएको स्थानीयवासीको गुनासो छ।


यस्तो छ जचुकालिको इतिहास
जनकपुर उपमहानगर पालिकाको वडा ९ मा जनकपुर चुरोट कारखाना (जचुकालि) रहेको छ । लगभग ६ दशक पुरानो यो कारखाना अहिले बन्द छ । कारखाना परिसरमा पस्दा यस्तो विजोग देखिन्छ कि जो कोहीको मनमा ठेस लाग्छ । रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेर २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले उद्घाटन गरेको यो कारखाना २०७० असार २० बाट पूर्ण रूपमा बन्द छ । यद्यपि यहाँको उत्पादन भने २०६८ चैत्रबाट नै बन्द भएको हो । मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखानाहरु अहिले ठप्प छन् । सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री समेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य सुरु भएको थियो। कारखाना स्थापनाको चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार थियो। कारखाना निर्माणका लागि सर्वसाधारणबाटै जग्गा खरिद गरिएको थियो। तत्काल ३ सय कर्मचारीहरूलाई भर्ना गराएर चुरोट कारखाना सञ्चालन गरिएको थियो।











