काठमाडौं- लेगस्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा कीर्तिमानी जित हात पारेको छ।
नेपालले पीएनजीलाई दोस्रो ओडीआई खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपाली क्रिकेटको ओडीआईमा यो नै सर्वाधिक ठूलो जित हो। नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। यसअघि नेपालले २०१९ मा दुबईमा युएईलाई १४५ रनले हराएको थियो। त्यतिबेला नेपालले ९ विकेट गुमाउँदै २४२ रन बनाएको थियो।
पीएनजीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए। उनले दोस्रोपटक ओडीआईमा ६ विकेट लिएका हुन्। उनले १२ फेब्रुअरी २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्ध भएको खेलमा १६ रन दिएर ६ विकेट लिएका थिए।
नेपालबाट पहिलो पटक ५ विकेट लिने बलर भने सोमपाल कामी हुन्। उनले युएईविरुद्ध दुबईमा २३ जनवरी २०१९ मा यो सफलता पाएका थिए। अहिलेसम्म यी २ खेलाडीले मात्र एउटै खेलमा ५ विकेट लिएका छन्। योसँगै सन्दीपको विकेट संख्या ३२ पुगेको छ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए। यस्तै, चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए।
गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए। सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए। त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो।
खराव सुरुवात गरेको नेपालले रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनमा पपुवा न्यू गिनी सामू मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
ज्ञानेन्द्र र रोहितले नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारीको कीर्तिमान बनाए। उनीहरुले पीएनजीविरुद्ध ८९ रनको साझेदारी गरे।
ज्ञानेन्द्र ४५ रन बनाएर बाहिरिएका छन्। पपुवा न्यू गिनीका चाड सोपरले मल्ललाई एलबीडब्लू धरापमा पारेर उक्त साझेदारी तोडेका थिए।
तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्ने क्रममा ज्ञानेन्द्रले दुई छक्का र तीन चौका प्रहार गरे भने रोहित पौडेलले दुई छक्का र एक चौका प्रहार गरे।
यसअघि यो कीर्तिमान कुशल मल्ल र विनोद भण्डारीको नाममा थियो। उनीहरुले ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध भएको खेलमा छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको उक्त खेल कीर्तिपुरमा भएको थियो।
तेस्रो विकेटको लागि नेपालको सर्वाधिक साझेदारी भने ६२ रनको थियो। शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतकै खेलमा ओमानविरुद्ध उक्त साझेदारी गरोक हुन्। त्यो खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमै भएको थियो।
पीएनजीविरुद्ध राैहितले १२३ बलमा ३ ५ छक्का र २ चौकासहित ८६ रन बनाए। त्यस्तै, करण केसीले २६ बलमा ४२, बिनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्।
पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए। चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए।