
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाले कानुन विपरीत इन्धन र विविध शीर्षक खर्चमा १ करोड ६० लाख खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनमा ८५ लाख ६९ हजार १ सय ५९ रुपैयाँ र विविध खर्चमा ७४ लाख ९९ हजार ७३ हजार रुपैयाँ नियम विपरीत खर्च पाइएको उल्लेख रहेको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने, सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता विषयमा ध्यान दिनुपर्ने सुझाव पहिला नै दिए पनि पालना नगरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
उपमहानगरपालिकाले सो व्यवस्थाको पालना नगरी आर्थिक वर्ष २०७६÷०७७ मा ८५ लाख ६९ हजार १ सय ५९ रुपैयाँको इन्धन खर्च गरेको छ ।
इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख नराखेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इन्धन खर्चलाई मितव्ययी बनाउन कोटा निर्धारण गरी लग बुक राखेर मात्र खर्च लेख्नेतर्फ उपमहानगरपालिकाले ध्यान दिनुपर्ने सुझाव पनि महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।
यसैगरी, उपमहानगरपालिकाले आ.व. २०७६/०७७ मा विविध खर्च शीर्षकमा ७४ लाख, ९९ हजार ७३ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (३) अनुसार खर्चको पुस्ट्याइँ हुने प्रमाण, कागजात, संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ ।
तर उपमहानगरपालिकाले विविध खर्च गर्दा खर्चको बिल पेस गरेको भएता पनि कतिपय खर्च पुष्टि हुने आधार सहितको प्रमाण नरहेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
विविध खर्चको स्पष्ट उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्न निर्देशन पनि प्रतिवेदनले उल्लेख गरेको छ ।