महेन्द्रनगर- धनुषाको महेन्द्रनगरस्थित नेपाल व्याहुत कलवार संघद्धारा बुधवार बलभद्र जयन्ती मनाइएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरको नयाँ बजारस्थित औरही नजिक अवस्थित नेपाल व्याहुत कलवार संघको प्राङ्गगणमा श्री श्री १०८ श्री बलभद्र जयन्ती एवं पूजनोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल व्याहुत कलवार समाजको कुल देवता रहेको श्री श्री १०८ श्री बलभद्र जयन्ती तथा पूजनोत्सव भव्यताका साथ मनाइएको संघका महासचिव संतोष कुमार साहले बताएका छन् । सो अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम समेत गरिएको महासचिव साहले जानकारी दिएका छन् ।
नेपाल व्याहुत कलवार संघ महेन्द्रनगरको अध्यक्ष सुनिल कुमार साहको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथ्यमा बलभद्र पूजनोत्सव समारोह एवं अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको छ । सो अवसरमा विशिष्ट अतिथिको रपमा जनकपुर कलवार कुट्टीका अध्यक्ष शम्भु साहको समेत सहभागिता रहेको थियो । सो समारोहमा संघका निर्वतमान अध्यक्ष बैजु साह, लक्ष्मण साह, भरत साह, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष जिवछ मण्डल, वडा नं. ७ का वडाअध्यक्ष रामकिशुन यादव, मुन्ना साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो समारोहलाई म्यूजिक ब्रेक चेयर खेलको मार्फत उद्घाटन गरिएको थियो । सो अवसरमा संघका महिला मञ्चका अध्यक्ष किरण देवी साहले तीन जना बालिकालाई कप प्रदान गरि सम्मान गरेकी थिईन् ।
बलभद्र जयन्ती तथा पूजनोत्सवको अवसरमा विहान ३०१ कलश यात्रा समेत निकालिएको थियो । महेन्द्रनगरकै दुधमति नदीबाट जलभरी संघको माथिल्लो तल्लमा रहेको बलभद्र भगवानको मन्दिरमा ल्याइएको थियो ।