जनकपुरधाम- झण्डै एक दशक अघि जनकपुरधामको रामानन्दचोकमा पाँचजनाको ज्यानजाने गरि भएको बम बिस्फोट काण्ड मुद्दाको सुनुवाई उच्च अदालमा सुरु भएको छ ।
२०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकको धर्नामा भएको बम विष्फोटको मुद्दाको सुनवाई उच्च अदालतमा जनकपुरमा आइतबारदेखि सुरु भएको हो । सो बम बिस्फोटमा धर्ना बसेका अन्य ३३ जना घाइते भएका थिए ।
सो घटनाको मुख्य योजनाकार अभियोगमा जिल्ला अदालत धनुषाले पूर्व सांसद संजय (टकला)लाई जन्मकैदको सजाय सुनाइसकेको छ । साह हाल कारागार काठमाण्डुमा रहेका छन् ।
जिल्ला अदालतको फैसला विरुद्ध साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनवाई सुरु भएको हो ।
सो रिटको सुनवाई धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासमा सुरु भएको हो ।
प्रहरी अनुसन्धानको आधारमा साहलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
अभियुक्त साहलाई सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा पनि धनुषा जिल्ला अदालते जन्मकैदको सजायको फैसला सुनाएको हो ।
धनुषाका तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुवेदीको सकृयतामा साहलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ गरी ल्याइएर कारबाही अगाडि बढाएको थियो ।
यस्तो थियो जनकपुर बमकाण्डको नालीबेली
जनकपुर बमकाण्डमा तत्कालिन सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी बीच ६० लाख रुपैयाँको ‘डिल’ भएको खुलासा भएको कुरा बाहिर आएको थियो ।
सशस्त्र समूहका नाइके मुकेश चौधरी २०७० फागुनमा पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता बारे खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजना कै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरी समक्ष दिएका थिए ।
स्रोतका अनुसार साहले धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई ‘हत्या’ गर्ने गरी बम विस्फोट गराउने योजना बनाएका थिए। त्यस बापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने बाचा गरेका थिए। तर घटनामा जीवनाथ बाच्न सफल भएपछि साहले उनलाई बाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेश बीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थियो। विस्फोटपछि सभासद् साह र मुकेशको सम्बन्ध बिग्रिएको थियो।
मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको र आफ्ना सबै मान्छे पक्राउ गराइ दिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिने गरेका थिए। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।
उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेश कै भएको प्रमाणित गरेको थियो।
समाचार प्रकाशित भएको चार दिनपछि प्रहरीले सभासद् साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न भने सकेको थिएन ।
२०७० फागुन १९ गते प्रहरीले मुकेशलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारत बाटै पक्राउ गरेर ल्याएको थियो। मुकेशको साथबाट प्रहरीले आठवटा सिमकार्ड, एउटा ट्याब्लेट, एउटा पेस्तोल र भूमिगत संगठन सम्बन्धी केही दस्ताबेज बरामद गरेको थियो।
चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए।
ओमप्रकाश यादव पक्राउ परेको सूचना पाए लगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौंबाट फरार भएका थिए । आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गरिरेहको संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।
प्रहरी अनुसन्धानबाट सभासद् साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखिएको े थियो । कल डिटेल लगायत केही प्रमाणका आधारमा साह नै सशस्त्र समूहको सञ्चालक रहेको निष्कर्ष प्रहरीले निकाल्यो ।
प्रहरी अनुसन्धान अनुसार साहले प्रयोग गरेका मोबाइल नम्बर ९८५४०२०२०७, ९७२१५४९८३८ र ९८१६८८४५५१ तथा मुकेश चौधरीले प्रयोग गरेका भारतीय फोन नम्बर ८०९०३७५५६९ र ९१२५३१४७९९ बीच दुई सय ४० मिनेटभन्दा बढी कुरा भएको थियो । विस्फोट भएको दिन उनीहरू बीच सात पटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।
०६९ वैशाख १८ गते रामानन्द चोकमा आरडीएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो । उक्त त्रासदीपूणर् घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साह सहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको हो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपछि अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए। पछि सरुवा भएर जनकपुर पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अर्याल समितिमा सदस्य रहेका तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अपरेसन नै चलाएका थिए।
२०६९ पुस ४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा साह विरुद्ध परेको उजुरीमा उल्लेख छ, ‘सञ्जय साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँग समेत साँठगाँठ राखेका छन्। त्यसमा प्रमुख हुन्, आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वी सिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जय कै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।’ यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेको पनि उजुरीमा उल्लेख थियो।
२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडीचालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।
संजय टकला सडकको गुन्डा देखि राज्य मन्त्री सम्म
जनकपुरधाम बम काण्डका प्रमुख योजनाकार भनिएका तत्कालिन सभासद एवं पुर्वराज्यमन्त्री संजय साह (टकला) लाई दोषी ठहर गर्दै २०७५ चैत्र १४ गते जन्मकैदको फैसला सुनाइएको हो । उनि अहिले जेल जिवन बताई रहेका छन् ।
गत ९ वर्ष अघि जनकपुरधामको रामानन्द चौकमा भएको मिथिला आन्दोलनको क्रममा गराइएको बम विस्फोटमा प्रमुख योजनाकार भनिएका तत्कालिन सभासद साहलाई जिल्ला अदालत धनुषाले अन्तिम सुनुवाई गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिनुभयो ।
जन्मकैदको सजाय पाउनेहरुमा प्रमुख योजनाकार भनिएका संजय साह, अर्जुन सिंह विद्यार्थी भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रंजित झा, जयप्रकश चौधरी, मुकेशकुमार कणर्, सुरेश कणर्, रिपेन्द झा रहेको छ ।
वि.सं. २०६९ साल वैशाख १८ गतेका दिन मिथिला राज्य संघर्ष समितिको आह्वान जनकपुरको रामानन्द चौकमा जारी आन्दोलनको क्रममा भएको बम विस्फोटमा परी ५ जनाको मृत्यु भएको थियो । सो विस्फोटमा परी कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।
आरोपित साह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा क्षेत्र नं. ४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा क्ष्ोत्र नं. ३ बाट सभासदमा विजयी भएको थियो भने पहिलो संविधान सभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्य मन्त्री बनेका थिए ।
को हुन् संजय साह
२०६४साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय साह पहिलो पटक निर्वाचित भएका थिए ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए । विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ । ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए ।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुविर महासेठलाई पराजित गरेका थिए । महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए ।
त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । सदभावना पार्टीको बरिष्ठ उपाध्यक्षको हैसियतले साह निर्वाचित भएका थिए । साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पुर्व सभाषद रामसरोज यादवलाई पराजित गरेका थिए । साह नै त्यस्तो नेता बन्न सफल भए जो कि जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका थिए । त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार दुई पटक सम्म जित्न सफल भएको इतिहास छैन ।
संजय साहको राजनीतिक यात्रा
२०६२/०६३ मा मधेस आन्दोलन हुनु अघिसम्म संजय साह ‘संजय टकला’को नामले जनकपुरमा चिनिन्थे । जनकपुरमा उनलाई कतिपयले टोले गुण्डाको रुपमा समेत हेर्ने गर्थे ।
जनकपुर उद्योग बाणिज्य संघको महासचिव पदमा उनी निर्वाचनमा लड्दा पराजित भएका थिए । पेशाले निर्माण व्यवसायी रहेका साह जनकपुरमा ठेक्कापट्टाको काम गर्थे ।
दवङ्ग (दादा)यूवाको रुपमा रहेका साह २०६२/०६३ को जनआन्दोलनसम्म नेपाली कांग्रेससँग आवद्ध थिए । कांग्रेसकै क्रियाशिल सदस्य थिए । तर, उपेन्द्र यादवको नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले अन्तरिम संविधान जलाएर मधेस आन्दोलन सुरुवात गर्दा आन्दोलनसँग प्रत्यक्ष नभएपनि अप्रत्यक्ष जुटेका थिए । उपेन्द्र यादवसँग भेट भएपछि आन्दोलनमा होमिएका संजय साह संविधान सभाको पहिलो निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं.४ तथा सदरमुकाम जनकपुरबाट टिकट पाए । उक्त चुनावमा एमालेका स्थापित नेता रघुविर महासेठलाई हराउँदै साह जितेपछि चर्चित भए ।
त्यसपछि साह फोरमको धनुषा जिल्ला अध्यक्ष हुनुका साथै केन्द्रिय सदस्य पनि भए । विजय कुमार गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री भएको बेला संजय साह सोही मन्त्रालयका राज्य मन्त्री बने । पछि गच्छदारले फोरम परित्याग गरी फोरम लोकतान्त्रिक गठन गर्दा साह पनि लोकतान्त्रिकमा प्रवेश गरे । त्यहाँ भने उनी धेरै दिन टिक्न सकेनन् । त्यसपछि साहले आफ्नो छुट्टै पार्टी मधेस क्रान्ति फोरम गठन गरे ।
दोस्रो संविधान सभाको निर्वाचन अगाडी मधेस क्रान्ति फोरमलाई सदभावना पार्टीमा विलय गराए । राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीमा साह बरिष्ठ उपाध्यक्ष बनाइए ।
दोस्रो संविधान सभाको निर्वाचनमा साह सदभावनाबाट पुनः दोस्रो पटक जनकपुरमा निर्वाचित भए । नेपाली कांग्रेसका धनुषा सभापति रामसरोज यादवलाई उनले पराजित गरेका थिए ।
संविधान सभाको दोस्रो चुनावको परिणाम लगत्तै केही महिना मै जनकपुर बम काण्डमा संजय साह अभियूक्त बनाइएपछि उनी फरार भए ।
२०७१ बैशाखतिर नेपाल प्रहरीले भारतबाट संजय साहलाई गिरफ्तार गरेर ल्याएपछि संविधान सभाका तत्कालिन सभामुख सुभाष चन्द्र नेम्वाङ्गले उनको सभाषद पदलाई निलम्बन गरे ।
सुरुमा सदभावना पार्टीले संजय साहलाई निर्दोष भएको भन्दै बचाऊ गरेपनि पछि पार्टीबाट निष्काशन गरे । एकातर्फ संजयलाई सदभावनाले पार्टीबाट निष्काशन गरे भने अर्को तर्फ संजय साहकी पत्नी रंगिला देवी साहलाई केन्द्रिय सदस्यमा मनोनयन गरे । तर, रंगिलाले विज्ञप्ती जारी गर्दै आफु सदभावना पार्टीमा नरहेको बताएका थिए ।
कसरी बने संजय टकला अर्बका मालिक
बेला बेला सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका सञ्जय ‘टकला’ अन्ततः पाँच जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर विस्फोट काण्डमा मुछिएर जन्म कैदको सजाय पाएका छन् । बम कान्डमा उनि २०७१ बैशाखमा प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेसँगै उनी संलग्न थप अपराधका रहस्य मात्रै खुल्न थालेन, उनले यसबीचमा कमाएको अवैध आर्जनको ग्राफ समेत अचम्मसँग बढेको देखियो ।
०६९ को जनकपुर बम विस्फोट काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियाँबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ ।
सामान्य किसान पृष्ठभूमिका साहको परिवार डेढ दशक मै करिब एक अर्ब रुपियाँ बराबरको सम्पत्तिको मालिक बन्न सफल भएको थियो, जसप्रति अनुसन्धान अधिकारीहरू नै अचम्भित भएका थिए । तत्कालिन ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम पराजुली भन्छन्, “सामान्य परिवारको मानिस एकाएक अर्बको मालिक बनेको देखिन्छ । जुन अस्वाभाविक मात्रै होइन, हाम्रो सन्दर्भमा त असम्भव नै हो ।”
५२ करोडको घरजग्गा
आपराधिक जालो जतिजति फिँजिदै गयो, उनको सम्पत्ति पनि अस्वाभाविक रूपमा बढ्दै गएको देखिन्छ । ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन ।
त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउँ लोहनामा १५ कठ्ठा २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ । पछि भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौँसम्म फैलिएको देखियो । मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गा जमिन उनको नाममा देखियो ।
ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नो बाहेक बुबा साधु साह सुडी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चल अचल सम्पत्ति जोडेका थिए ।
धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ । जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन् । घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाँमा जग्गा किनबेच हुन्छ । प्रतिधुर औसत २० लाख रुपियाँ मान्दा १० कठ्ठा जग्गाको मूल्य ४० करोड बराबर हुन्छ ।
जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीँ उनले आलिसान घर पनि बनाएका छन् । धनुषाकै भरतपुर-४ मा एक बिघा जमिन भेटिएको छ भने मिथिला नपाको नक्टाझिज मा १० कठ्ठा । यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपियाँ पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियाँको छ ।
उनले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनार मै करिब नौ कठ्ठा घडेरी जोडेका छन् । यस क्षेत्रमा प्रतिकठ्ठा जग्गाको ४० लाख रुपियाँ बेसी पर्छ । यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाँ बराबरको हुन्छ । यो गाउँ हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ ।
उनकै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँ बराबरको रहेको देखिन्छ । “वैध आम्दानीको स्रोतले यति छोटो समयमा ठूलो सम्पत्ति जोड्ने अवस्था देखिँदैन । त्यसैले यो सबै आपराधिक क्रियाकलापबाट कमाएको पुष्टि हुन्छ,” तत्कालिन सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन् ।
दर्जन कम्पनीका मालिक पनि
चल र अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ । साहका नाममा मात्र नौ वटा कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन ।
निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन् । केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालय समेत खोलिएका छन् ।
धु्रवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कणर्ाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ ।
यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन् । बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् ।
यी कम्पनीमा साहको लगानी २० करोड रुपियाँभन्दा माथि देखिन्छ । धु्रवताराले निर्माण सम्बन्धी कामको ठेक्कापट्टा लिन्छ । मिथिला आयल स्टोर्स नामक पेट्रोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन् । यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको काम समेत गर्थे ।
साहसँग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड प्रयोग गर्थे । यसको मूल्य अहिले नेपाली बजारमा ६० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटर समेत रहेका छन्, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ ।
प्रहरीका अनुसार ठेक्कापट्टाबाट प्राप्त रकमबाट उनले आफ्नो आपराधिक जालो निर्माण गरे र हत्या, फिरौती, अपहरण जस्ता घटनाका समेत योजना बुन्न थाले । उनको आपराधिक सञ्जाल नेपालको सीमाभन्दा बाहिर सम्म फैलिएको देखिन्छ । र, सीमापार अपराधका धेरै घटनामा उनी मुछिएका छन् । “अपराधको कमाइबाटै सबैतिर लगानी वृद्धि गर्दै गएको देखिन्छ,” तत्कालिन डीआईजी सिलवाल भन्छन्, “अपराधबाट कमाएको पुँजी उनले मोजमस्तीमा उडाएनन् । लगानी गरेर आफ्नो सञ्जाल बढाए र लामो समय टिकिरहन सफल भए ।”
साढे ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जय साह विरुद्ध अवैध रुपमा सम्पति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको छ । ३१ करोड ५० लाख बराबरको रकम अवैध रुपमा कमाएको दावी गर्नै उनीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगले २५ पुष २०७३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
व्यवस्थापिका संसदका सदस्य(सभासद) तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय कुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरि गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसीयत अमिल्दो उच्च जीवनस्तर यापन गरेकोले निजको सम्पत्ति उपर छानबिन गरी पाउँ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उक्त उजुरीको सम्बन्धमा आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य (सभासद) भएर , भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेला समेत साहले सार्वजनिक पद धारण गरेको अवधिमा निज तथा निजका परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोवार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोवार तथा परिवारका सदस्य लगायतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं बिश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा वदनियतपूणर् तवरले आर्जन गरेको अभियोग सहित विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।
मनासिव कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको,आफ्नो हैसियत भन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिवाट बढी बढाउ गरेको समेत देखिन आएबाट निज संजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निज संजय कुमार साहलाई बिगो रु एकतीस करोड पचास लाख छब्बीस हजार पाँच सय उनान्साठी रुपैयाँ सत्ताईस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना तथा कैद सजायको आयोगले माग दावी गरेको छ ।
निज संजय कुमार साह संविधान सभाको सदस्य, नेपाल सरकारको राज्यमन्त्री र व्यवस्थापिका संसद सदस्यको हैसियतमा सार्वजनिक पदको राष्टूसेवक एवं पदाधिकारी समेत रही उपरोक्त बमोजिमको कसूर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत हुन र निजले गैरकानूनी आर्जन गरेको रकमबाट जोडेको तथा बढे बढाएको चल अचल सम्पत्तिहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा २९ख बमोजिम जफत गर्न मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरिएको छ ।
उक्त मुद्दामा गत असोज महिनामा मात्रै विशेष अदालतमा संजय साहको बयान लिने कार्य सम्पन्न भएको छ । उक्त भ्रष्टाचारको मुद्दामा हालसम्म कुनै फैसला हुन नसकि विचाराधिन अवस्थामा रहेको छ ।
सम्पति शुद्धिकरण विभागद्वारा संजयको सम्पति रोक्का
सम्पति शुद्धिकरण विभागले संजय साहको विभिन्न सम्पतिहरु रोक्का गरेको छ । संजय साहले आर्जन गरेको सम्पति निजका आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको भनि खुल्न आएकोले सो सम्बन्धी सुक्ष्म अनुसन्धान आवश्यक भएको, निज साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निजसँग निरन्तर नगद लेनदेनको कारोवार भएको अन्य व्यक्तिको सम्पतिको अनुसन्धान गर्नुपर्ने भएकोले, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोवास गर्ने निज साहको घर परिवार तर्फका सहयोगी र कामदारको नाम नामेसी सहितको विवरण प्राप्त भएको हुँदा निजहरुका नाममा रहेको सम्पतिको अनुसन्धान गर्नुपर्ने देखिएकोे, केन्द्रिय अनुसन्धान व्यूरोबाट स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटिगएको अनुसन्धान टोली प्रतिवेदनमा उल्लेखित आधारहरुका कारण सम्पति रोक्का गर्नुपरेको भन्दै सम्पति शुद्धिकरण विभागले साह सहित साहका नातेदारहरुको सम्पति रोक्का गरेको थियो । सम्पति शुद्धिकरण अनुसन्धान विभागले हालसम्म अनुसन्धान मात्र गरिरहेको भएपनि मुद्दा भने विशेष अदालतमा दर्ता नभएको साहका कानुन व्यवसायी ओम प्रकाश सिंहले बताए ।
व्यवस्थापिका संसदको छानविन टोलीको प्रतिवेदन
सम्पति रोक्का गरिएको सन्दर्भमा तत्कालिन व्यवस्थापिका संसदको टोलीले समेत अनुसन्धान गरी प्रतिवेदन बुझाईसकेको छ । २६ कार्तिक २०७१ मा संजय साहको मुद्दासँग गाँसी निज बाहेक निजका नातेदार तथा गैरनातेदार समेतको व्यक्तिगत सम्पति गैरकानुनी रुपले रोक्का भएको र सो गैरकानुनी कारवाही बारे जाँचबुझ तथा छानविन गरी सम्बन्धित निकायलाई उचित निर्देशन गर्न तथा सो विषयमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न सुशासन तथा अनुगमन समिति अन्तरगत तत्कालिन सांसद रामचन्द्र यादवको संयोजकत्वमा सांसदहरु अमन लाल मोदी, नरसिंह चौधरी, बहादुरसिंह लामा, मिलन कुमार राजवंशी र जिवराज बुढाथोकी समिति सचिव रहने गरी तीन सदस्यीय उपसमिति गठन गरिएको थियो । ३० कार्तिक २०७१ मा उक्त उपसमितिको बसेको पहिलो बैठकले रामचन्द्र यादवलाई सर्बसम्मतिले संयोजक चयन गर्नुका साथै उपसमितिको कार्य्विधि पारित गरेको थियो । त्यसैगरी सम्पति शुद्धिकरण विभागलाई उक्त उपसमिति गठन भई कार्य प्रारम्भ भएको जानकारी गराउनुका साथै गैरकानुनी रुपले व्यक्तिगत सम्पति रोक्का गरिएका भनिएका व्यक्तिहरुलाई आफ्ना भनाई राख्नका लागि पत्राचार गर्ने निणर्य गरिएको थियो ।
त्यसपछि २ मंसिर २०७१ मा उक्त उपसमितिको बसेको दोस्रो बैठकले सम्पति रोक्का गरिएको भनिएका व्यक्तिहरु मध्ये उपस्थित ९ जनासँग छलफल गरी समितिले रोक्का भएको भनिएको सम्पतिको विवरण, सो आर्जनको स्रोत, कर तिरेको विवरण र सांसद संजय साहसँग कुनै नाता सम्बन्ध रहे नरहेको खुल्नेगरी उपसमितिले तयार गरेको विवरण ढाँचामा भरि पठाउन निर्देशन गर्यो । ७ कार्तिक २०७१ मा उक्त समितिको बसेको तेस्रो वैठकले गैरकानुनी रुपमा व्यक्तिगत सम्पति रोक्का भएको भनिएका र २ गतेका वैठकमा उपस्थित भएका ९ जना व्यक्तिहरुका भनाई सुन्नुका साथै मंसिर २५, २०७१ भित्र उपसमितिले उपलब्ध गराएको ढाँचामा विवरण फारम भरि पठाउन र उक्त मितिमा अनुपस्थित अन्य व्यक्तिको हकमा मंसिर २५ भित्र उपसमितिले उपलब्ध गराएको ढाँचामा विवरण फारम सहित उपस्थित हुन र मंसिर २६ गते सम्पति रोक्का गरी पाऊ भनि उजुरी गर्ने जनकपुर नगरपालिका ४ का रामनाथ यादवलाई पनि उपस्थित हुन पत्राचार गरेको थियो ।
उक्त मुद्दासँग सरोकारबाला निकायको रुपमा रहेको सम्पति शुद्धिकरण अनुसन्धान विभाग र सम्पति रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरी निष्कर्षमा पुग्नु भन्दा सम्भव भएसम्म सबै पक्षका कुरा सुनि सरोकारबाला निकायका पदाधिकारीहरुसँगको छलफलको लागि आधार तयार गर्नु आवश्यक भएको र सांसद संजय साहसँग आरोपितहरुको यथार्थ सम्बन्ध बुझ्न आवश्यक भएकोले उपसमितिका सदस्यहरुले पुष २२ देखि २४ गतेसम्म सिरहा र जनकपुरको भ्रमण गरी सांसद संजय साह र बोलाएको स्थानमा भेला भए जति आरोपित अन्य व्यक्तिहरुका भनाई लिपीबद्ध गरी उक्त समिति काठमाण्डौ फर्किएको थियो । काठमाण्डौ फर्किए पश्चात माघ १२ गते सरोकारबाला निकायको रुपमा रहेको सम्पति शुद्धिकरण अनुसन्धान विभाग र गैरकानुनी सम्पति भनि रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरी उपसमिति निष्कर्षमा पुगेको थियो । आरोपित मध्येका मुख्य व्यक्ति सांसद संजय साह र काठमाण्डौमा उपसमितिको बैठकमा उपस्थित भएका र उपसमितिका सदस्यहरुको जनकपुर स्थलगत भ्रमणमा त्यहाँ सम्पर्कमा आएका व्यक्तिहरुको भनाईको साराशं समेत उल्लेख गरिएको छ । उक्त समिति जनकपुर आएको बेला केही व्यक्तिहरु सम्पर्क बाहिर रहेको, केही भारतीय नागरिक भएको र उजुरीकर्ता रामनाथ यादव समेत सम्पर्कमा नआएको प्रतिवेदनमा उल्लेख छ ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले उपसमितिमा पेश गरेको लिखित विवरण
धनुषा लोहना गाविस ८ घर भई हाल जनकपुर २ कदम चौक बस्ने साधु साह सुडीको छोरा संजय कुमार साह विभिन्न आपराधिक तथा गैरकानुनी क्रियाकलापमा संलग्न रहि गैरकानुनी तवरले ठुलो परिमाणमा चल अचल सम्पति आर्जन गरी सम्पति शुद्धिकरण सम्बन्धि कसुर अपराध गरेको भन्ने विषयमा केन्द्रिय अनुसन्धान व्यूरोबाट यस विभागमा उजुरी प्राप्त हुन आएको छ । सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार अनुसन्धान अधिकृतको रुपमा काम गर्न केन्द्रिय अनुसन्धान व्यूरोलाई तोकिएको उल्लेख छ ।
सम्पति रोक्का गर्नुपर्ने आधारहरु
उजुरीका आधारमा संजय साहले आर्जन गरेको सम्पति निजका आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको भनि खुल्न आएकोले सो सम्बन्धी सुक्ष्म अनुसन्धान आवश्यक भएको, निज साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निज सँग निरन्तर नगद लेनदेनको कारोवार भएको अन्य व्यक्तिको सम्पतिको अनुसन्धान गर्नु पर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोवास गर्ने निज साहको घर परिवार तर्फका सहयोगी र कामदारको नाम नामेसी सहितको विवरण प्राप्त भएको हुँदा निजहरुका नाममा रहेको सम्पतिको अनुसन्धान गर्नुपर्ने देखिएकोे, केन्द्रिय अनुसन्धान व्यूरोबाट स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटिगएको अनुसन्धान टोली प्रतिवेदनमा उल्लेखित आधारहरुका कारण सम्पति रोक्का गर्नुपरेको सम्पति शुद्धिकरण विभागले आधारहरु देखाएको छ । त्यसैगरी अनुसन्धान कार्यमा प्रमाण लाग्न सक्ने प्रमाणहरु नष्ट हुन नदिन, कसुरबाट आर्जित सम्पति विक्री वितरण तथा हक हस्तान्तरण हुन नदिन, सम्पति लुकाउने स्थानान्तरण गर्ने अन्य सम्पतिमा मिसाउने आदि कार्य नगर्न, निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण गर्न तथा सम्पति विक्री वितरण पश्चात धेरै चरण पार गरेपछि कसुर जन्य सम्पतिको स्रोत प्राप्त गर्न कठिन हुने हुनाले सम्पति रोक्का राख्नुपर्ने कारणहरुको रुपमा विभागले औलियाएको छ ।
अनुसन्धानका क्रममा गरिएका कार्यहरु
प्रारम्भिक अनुसन्धानबाट निज साह सहित गरी २८ जना व्यक्तिहरु सबैलाई अनुसन्धानको दायरामा ल्याई सबैको चल अचल सम्पति, बैंक खाता र अन्य विविध कारोवारको अनुसन्धान थालिएको छ । अनुसन्धानको क्रममा नेपाल राष्टू बैंक, बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभाग,भुमि सुधार तथा व्यवस्था विभाग , यातायात व्यवस्था विभाग, सहकारी विभाग, विमा समिति, कम्पनि रजिष्टूारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, र नेपाल स्टक एक्सचेन्ज लिमिटेड समेतबाट सम्पति, बैंक खाता, कारोवार, घर जग्गा, सेयर विमा समेतको विवरण माग गरी त्यस्ता सम्पतिहरु समेत रोक्काको लागि पत्राचार भएको विभागले उक्त समितिलाई दिएको जवाफमा उल्लेख छ ।
त्यसैगरी मालपोत कार्यालयहरु जनकपुर, सिरहा, सर्लाही, महोत्तरी, काठमाण्डौ, भक्तपुर र ललितपुर समेतलाई जग्गाको विवरणको लागि छुट्टा छुट्टै पत्राचार गरिएको उल्लेख छ । जिल्ला कारागार सिरहामा संजय साहको बयान लिनका लागि अनुसन्धान अधिकृत समेतको टोली २०७१ कार्तिक १७ गते देखि खटिगएकोमा निजले स्वास्थ्यको कारण देखाई तत्काल बयान दिन अस्विकार गरेकोले अनुसन्धान टोली फिर्ता भएकोले बयान लिन सकिएको छैन ।
उपसमितिको निष्कर्ष सहितको सिफारिस
सांसद संजय साह र निजहरुसँग सम्बद्ध आरोपित व्यक्तिहरु मध्ये कसैको जग्गा नै नभएको र कसैको १० धुर मात्र जग्गा भएका व्यक्तिको जग्गासम्म पनि रोक्का भएको बुझिएको छ । यसबाट सम्बन्धित व्यक्तिको तथ्य, समस्या र अवस्थाबारे विभाग अनभिज्ञ भए जस्तो देखिन्छ । यस प्रकार हचुवाको आधारमा भएको अनुसन्धान कार्यले बास्तविक र यथार्थ परिणाम ननिस्कने र सम्पति रोक्का गर्ने जस्ता कार्यले संविधान प्रदत सम्पति सम्बन्धि मौलिक हक अधिकारलाई प्रभावित पार्ने हुँदा रोक्का भएको सम्पति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार सम्पतिको छानविनको दायरामा परेको अवस्था र रोक्का गर्ने मनासिव आधारलाई स्पष्ट खुलाएर मात्र सम्पति रोक्का गर्न गराउन र सांसद साह लगायत निजसँग सम्बद्ध अन्य व्यक्तिहरुको प्रथम दृष्टया प्रमाणबाटै गैरकानुनी नदेखिने सम्पति फुकुवा गर्न सम्पति शुद्धिकरण छानविन विभागलाई निर्देशन उक्त समितिले गरेको छ ।
संजय साहको पैतृक सम्पति, कर बुझाएको सम्पति, ऋण तथा अन्य स्रोत आदिको समष्टिगत विश्लेषण पश्चात मात्र सम्पति शुद्धिकरणको दायरामा पर्ने नपर्ने मनासिव आधार एकिन हुने र निजका नातेदार सासु, त्यस्तै दिदी, बहिनी, भिनाजु, ज्वाँईले बैवाहिक सम्बन्ध स्थापित भईसकेपछि आर्जन गरेको सम्पतिको मात्र विश्लेषण गरी त्यसमा सांसद साहको संलग्नता रहे नरहेको स्पष्ट गर्नुपर्नेमा सो गरे नगरेको सम्बन्धित निकायले यस उपसमितिलाई स्पष्ट गर्न सकेको अवस्था छैन । यसर्थ यी कुराको विश्लेषण गरी यूक्ति संगत ढंगले यथासिघ्र अनुसन्धान कार्य पुरा गर्न गराउन र कानुन सम्मत सम्पति फुकुवा गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको भनि उक्त उपसमितिले सिफारिस गरेको निणर्यहरुलाई ३ चैत्र २०७१को सुशासन तथा अनुगमन समितिको २७ औं बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
साह माथिको विभिन्न मुद्दा तथा सजाय
दुई पटक सभाषद तथा एक पटक भौतिक पुर्वाधार राज्य मन्त्री समेत भईसकेका संजय साह हातहतियार तथा खरखजाना मुद्दा र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा, पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतबाट समेत उक्त मुद्दामा अन्तिम फैसला भई कसुरवार ठहर भएका साहले अन्य मुद्दाहरुमा थुनामा कारागारमा रहेका हुँदा उक्त कैद सजाय साहले भुक्तान गरिसकेका छन् ।
३ जेठ २०६० मा धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानिय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै राम जिवन प्रसाद गुप्ताले दिएको जाहेरी पछि संजय साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो । गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, संतोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पुर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो । प्रहरी प्रतिवेदन अनुसार हातहतियार र खुकुरी समेत बोकी हो हल्ला गरी हिँड्ेको अवस्थामा खान तलासी गर्दा संजय कुमार साहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड लेखेको नम्बर १७४० लेखेको पेस्तोल थान १ गोली लोड भएको अवस्था बरामदी गरिएको तत्कालिन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ ।
सोही मुद्दामा धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रेवती राज काफ्लेले ३० अषाढ २०६१ मा संजय साहलाई १ वर्ष ९ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उक्त फैसलाका विरुद्ध पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा न्यायाधिशद्वय गिरीराज पौडयाल र भोला प्रसाद खरेलको संयुक्त इजलासले ३० जेठ २०६३ मा जिल्ला प्रशासन कार्यालय धनुषाको फैसलालाई सदर गर्दै सफाइ पाउनु पर्ने पुनरावेदकको निवेदन निरर्थक भएको फैसला गरेको थियो ।
त्यसपछि सोही निणर्य विरुद्ध सर्वोच्च अदालतमा २०६८ सालमा फैसला बाझिएको थियो । सर्वोच्च अदालतका स्थायी न्यायाधिश अवधेष कुमार यादवले पुनरावेदन अदालतको फैसलालाई सदर गरेको थियो भने अस्थायी न्यायाधिश कमल नरायण साहले प्रतिवादी संजय साह निर्दोष रहेको भनी पुनरावेदन अदालतको निणर्य विपरित राय बझाएको थियो । पछि सर्बोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो ।
संचार उद्यमी अरुण सिंघानिया हत्याका पनि अभियूक्त
१७ फागुन २०६६ मा जनकपुरका व्यवसायी तथा संचार उद्यमी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरिएको थियो । फागुन पुणर्िमा होली कै दिन सिंघानियालाई जनकपुरको शिव चौकमा गोली हानी हत्या गरिएको थियो । उक्त हत्याको अभियोगमा अन्य विभिन्न अभियूक्तसँगसँगै संजय साहलाई पनि अभियूक्त बनाइएको थियो । उक्त मुद्दामा पनि साहलाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ।