जनकपुरधाम- समाजवादी लोकतान्त्रिक पार्टी(लोसपा)ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ ।
जनकपुरधाममा आज सोमबार बसेको लोसपा प्रदेश सांसदहरुको बैठकले विधान पारित गरेको हो ।



लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायतका नेतहरुको उपस्थितीमा बसेको संसदीय दलको बैठकबाट विधान पारित गरेको प्रदेश सांसद परमेश्वर साहले बताए ।
यद्यपी संसदीय दलको नेता छनौट गर्न सर्वसहमती हुन नसकेकाे सांसद साहले बताए । उनले कार्यकारिणी सदस्य एवं प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसहमतिमा दलको नेता बनाउने प्रयास भए पनि सहमती जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जाने भएकाे बताए ।
अहिले दलको नेता छनौट गर्न निर्वाचन अधिकृत तोक्न केन्द्रीय समितिलाई पत्र लेख्नुपर्ने व्यवस्था अनुसार पत्र पठाइएको साहले बताए । केन्द्रीय कार्य समितिले निर्वाचन अधिकृत तोकेपछि बाँकी प्रक्रिया अघि बढाइने सांसद साहले बताए ।
संसदीय दलका नेताका आकांक्षी समेत रहेका लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले पनि दलको नेताको लागि निर्वाचन हुने बताए ।




