साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन्।
बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।
जनकपुर बमकाण्डको नालीबेली
तत्कालीन अवस्थामा प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर घटना भएको क्षेत्रमा साहित्यकार, कलाकार, बुद्धिजीवी, विभिन्न संघ–संस्था, युवा क्लबहरू सम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थियो । शान्तिपूर्ण तरिकाले आफ्नो माग राज्यसमक्ष पुर्याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक–एक घण्टा चक्काजाम गरी सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू गर्ने भनेर पहिलेदेखि नै तय गरेको थियो । १८ वैशाख २०६९ मा संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरको रामानन्द चोकमा सडकमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेको थियो ।
मधेसकेन्द्रित दलहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपूर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विस्फोट गराइयो ।
विस्फोटमा परी जनकपुर नगरपालिका– १० बस्ने झगरुलाल दास कथबनिया (४०), जनकपुर ८ बस्ने बिमल शरण (४०), महोत्तरी बथनाहा– ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा (४०), जनकपुर– ८ बस्ने सुरेश उपाध्याय (४५) र दीपेन्द्र दास (३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए । जनकपुरको इतिहासमा पहिलोपटक यसरी शान्तिपूर्ण आन्दोलनमा कुनै आपराधिक समूहले बम विस्फोट गराएको थियो । जानकी नवमीको उल्लास त्यो वर्ष चित्कारमा परिणत भएको थियो ।
२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो । साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाटै विजयी भएका थिए । बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए । - लोकान्तर डटकमको सहयोगमा




