
जनकपुरधाम- सवारी दुर्घटना सहित विभिन्न दुर्घटनामा परी पछिल्लो २४ घण्टामा १७ जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार सवारी दुर्घटनामा ९ जना, मृत अवस्थामा फेला परेका ६ जना तथा दुईको डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार बारा, मकवानपुर, बर्दिया, सप्तरी, रौतहटमा भएका सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्। बारामा ज्यान गुमाउनेमा तीन जना भारतीय नागरिक छन्।
जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारका चालक भारत मोतिहारीका ३४ वर्षीय राजन सराफसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै हेटौंडा उपमहानगरपालिका–१५ वनढाटस्थित सडकमा ना.६ ख ७६९ नम्बरको बसले ना.५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा हेटौंडा–१५ पनेस का १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका–३ का २२ वर्षीय सुशान्त दियाली छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दिया, बढैयाताल गाउँपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँका ७८ वर्षीया सोरावति रग्देलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ।
सप्तरी, खडक नगरपालिका–४ अमहास्थित सडकमा बा.५६ प २५१५ नम्बरको मोटरसाइकल र स ५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पहिचान नखुलेका दुई जना पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तऋषी अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री पहिचान नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत अवस्थामा फेला
प्रहरीका अनुसार उदयपुर, सप्तरी, दाङ, बैतडी, बर्दिया र कैलालीमा ६ जना मृत अवस्थामा फेला परेका छन्।
उदयपुरको कटारी नगरपालिका–२ माझिटोलस्थित कमला खोलामा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१२ मसानघाट नजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठी कोइलाडी गाउँपालिका–५ का ५० वर्षीया रितादेवी साह मृत अवस्थामा फेला परेकी छन्।
यस्तै दाङको घोराही उपमहानगरपालिका–३ स्थित गोग्लीसोता खोलामा पहिचान नखुलेका अन्दाजी २६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित महाकाली नदी किनारमा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँका ४६ वर्षीय रामप्रसाद तिवारी मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
प्रहरीका अनुसार सिन्धुली र रुपन्देहीमा दुई जनाको डुबेर ज्यान गएको छ। सिन्धुलीको दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ का २५ वर्षीया फुलकुमारी मुखियाको मृत्यु भएको छ।
नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको हो। यस्तै रुपन्देहीको देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका–४ का ११ वर्षीय सानु लोधको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले फेला पारेको हो।