
जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ को सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन् ।
धनुषाको ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस प्रदेशको भू-बनोट, विद्युतीय सुविधा र उत्पादित समानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भूमि भएको प्रष्ट पारे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुनेगरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्नेखालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीहरुलाई आग्रह गर्दै उनले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्दै उनले प्रदेश २ सरकार उद्योग ऐन ल्याई सकेकोले उद्योग सञ्चालन गर्न आग्रह गरे ।
उनले भने, ‘तपाईंहरु उद्योग सञ्चालनको तयारी थाल्नु होस , बाताबरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप एन कानुन चाहिए सुझाब दिनुहोस् , हामी ल्याउछौ ।‘
मुलुकको आर्थिक समृद्धि एव रोजगारीको क्षेत्रमा महत्वपूणर् भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दुःखद रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फ बाट हुन सक्ने सम्पूणर् बाताबरण बनाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
बिलाशिता भन्दा पनि उपयोग बस्तुको रुपमा परिणत हुँदै गएको अटो मोबाइल क्षेत्र को भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूणर् रहेको उनको भनाई छ ।
उनले लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्यको कुरा रहेको बताउँदै उनले भने, ‘ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने प्रदेश २ भित्र लगानीमैत्री वातवरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौ ।’
नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ्ग उद्योगहरुले उत्पादन गरिरहेको जानकारी दिए।सरकारले ल्याएका नीतिहरुले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल्स उद्योग फष्टाउँदै जाने विश्वास उनले व्यक्त गरे ।
नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राखे ।
सरकारले विद्युतीय सवारीसाधनको उत्पादनलाई उच्च प्राथमिकता दिएको सन्दर्भमा विद्यतुतीय सवारी साधनको मुख्य औजार र ब्याट्री यहीँ उत्पादन गर्न सकिने व्यवस्थाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने अध्यक्ष दुलालले बताए ।
मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तिब्र गतिमा भइरहेको बताउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए ।
प्रदेश २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताए ।
कार्यक्रमको सञ्चालन नाडाका सचिव अनुप बरालले गरेका थिए भने धन्यवाद मन्तव्य जानकी अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष केदार अग्रवालले व्यक्त गरेका थिए ।
जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा पुनः साह
जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह (सन्तोष) निर्वाचित भएका छन् ।साह यस अगाडि तदर्थ समितिको अध्यक्ष थिए ।
शनिबार धनुषाको ढल्केबरमा आयोजित प्रथम साधारणसभाले साहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह चयन भएका छन् ।
सदस्यहरुमा बजरंग यादव, सुरेन्द्र शाह, प्रदीप शाह र चन्द्रशेखर अग्रवाल रहेका छन् ।
निर्वाचित भईसकेपछि प्रदेश २ को अटोमोबाइल क्षेत्रको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष साहले प्रतिबद्धता व्यक्त गरे । ‘अटोमोबाइल क्षेत्रमा प्रदेश २ मा जानकी अटोमोबाइल पहिलो संस्था हो,’ साहले भने, ‘अब यस क्षेत्रमा अटो व्यवसायको हकहितका क्षेत्रमा हामीले काम गर्नेछौं ।’
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडा पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा साधारणसभाको उद्घाटन भएको थियो ।