रौतहट — प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका–१ बन्जरहास्थित बकैया खोलाको बाँधमा जाँचको क्रममा भारतीय २२ वर्षीय सुशीलकुमार साहलाई स्रोत नखुलेको १ लाख ८० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत बेलवाघाट–५ का साह नेपाल आउँदै गर्दा उनले बोकेको झोलाभित्र शुक्रबार बिहान भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि नारायणप्रसाद चिमरियाले बताए ।
‘साहले रकम कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भनेर बताउन सकेनन्’,उनले भने,‘स्रोत खुलाउन नसकेपछि अनुसन्धानको लागि बारा स्थित राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएका छौं ।’
नेपाल प्रहरीले एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड बढी रकम बरामद गरिसकेको जनायो ।