
टि ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। केही बेरअघि सकिएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो। १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो ।
सुरुआतमै ४ विकेट गुमाएर दबाबमा आएको भारतलाई बिराट कोहलीले उद्दार गरेका थिए । उनलाई हार्दिक पाण्डेयले पनि साथ दिए । कोहलीले ८२ रन बनाए । पाण्डेयले ४० रनको योगदान गरे । एक समय भारत पराजयको नजिक पुगेको थियो । तर अन्तिम दुई ओभरमा उसले खेल आफ्नो पक्षमा ल्यायो ।
अन्तिम ओभरमा उसलाई जितका लागि १६ रन चाहिएको थियो । एउटा नो बल भएपछि भारतको भाग्य चम्किएको थियो । पाकिस्तानका लागि हरिस रौंफ र मोहम्मद नबाजले २-२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। सुरुवातबाटै संकटमा परेको पाकिस्तानी इनिङ्स सान मसुद र एक्तिखार अहमद्ले अर्धशतक बनाएर उकासेका थिए । भारतका लागि अर्सदीप सिंह र हार्दिक पाण्डेले तीन-तीन विकेट लिए।